नरेश यादव, पर्सागढी, ९ मङ्सिर/
पर्सागढी नगरपालिकाले किसानहरूको लागि नगरपालिकाभित्र नौवटा सहकारीमार्फत मल वितरण शुरू गरेको छ।
नगरपालिकाभित्रका नौवटा वडामा एक/एक वटा सहकारीमार्फत मल वितरण शुरू गरे पनि किसानलाई आवश्यक मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले उपलब्ध नगराउँदा समस्या भएको सहकारीका सञ्चालकहरूले बताए। पर्सागढी सहकारी संस्था लिमिटेडका रामाशिष यादवले पहिलेभन्दा धरौटीबापतको रकम पनि तीन गुणा बढी लिने गरेको तर किसानलाई आवश्यक भएको बेलामा साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले मल नदिने गरेको गुनासो गरे। पहिले दुई कम्पनीमध्ये एउटामा रु १२ हजार धरौटी रहेको खण्डमा दुवैले सोही धरौटीको आधारमा मल दिंदै आएको उनले बताए। तर अहिले दुवै कम्पनीले सहकारीबाट ५०/५० हजार रुपैयाँ धरौटीबापतको रकम लिने गरे पनि मल समयमा नदिने गरेको उनको गुनासो थियो। उनले दुवै कम्पनीले आगामी मङ्सिर १६ गतेदेखि थप मल दिने आश्वासन दिएको बताएका छन। अहिले किसानलाई मकै र गहुँबालीमा छर्न डिएपी मलको आवश्यकता छ। डिएपी मल कम्पनीले सहकारीलाई ८० बोरा मात्र दिएको छ। पर्सागढी नगरपालिकामा नौवटा वडा छन् र प्रत्येक वडामा चार सयको हाराहारीमा किसान छन्। सहकारीले ८० बोरा मल पाएकोमा चार सयजना किसानलाई कसरी वितरण गर्ने समस्या भएको पर्सागढी सहकारी संस्था लि. का सञ्चालक यादव भन्छन्। मल लिन एकाबिहानैदेखि मानिसहरू घरमा धाउने गरेको उनले बताए।
तोकिएभन्दा बढी मूल्य लिएको आरोप
पर्सागढी नगरपालिकाले नौवटा वडामा सहकारीलाई ५० किलो बोराको डिएपी मल रु २३ सयमा बिक्री गर्न दर तोकेको छ।
करीब–करीब आठवटा सहकारीले नगरपालिकाले तोकेबमोजिमको दरमा किसानलाई मल उपलब्ध गराउँदै आएका छन्। तर वडा नं ५ मा रहेको गतिशील कृषि सहकारी संस्था लि. ले भने वितरणको जिम्मा पाएको वडा नं ४ मा प्रतिबोरामा रु ५० बढी लिइरहेको किसानहरूले गुनासो गरेका छन्। यसबारेमा सो सहकारीका सञ्चालकसँग बुझ्न खोज्दा निज सम्पर्कमा आउन चाहेनन्।
नगरपालिकाले भने बढी मूल्य लिने सहकारीमाथि कारबाई गर्ने आश्वासन दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here