प्रस, वीरगंज, ९ मङ्सिर/
वीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले मङ्गलवार सरोकारवालाहरूसँग छलफल गरी तोकिएको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने विद्यालयलाई कक्षा ६ र ७ सञ्चालन स्वीकृति दिने निर्णय गरेको छ।
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले कात्तिक २३ गतेदेखि कक्षा ८ देखि १० सम्म सञ्चालन स्वीकृति दिइएका संस्थागत तथा सामुदायिक विद्यालयहरूको अनुगमन गर्दै थप कक्षा सञ्चालनका लागि बैठक गरी स्वीकृति प्रदान गरेको वीरगंज महानगरका शिक्षा शाखा अधिकृत हरि राउतले बताए। प्याब्सन, एनप्याब्सन र सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको आज सम्पन्न बैठकमा महानगरका संस्थागत र सामुदायिक विद्यालयहरूलाई कक्षा ६ र ७ सञ्चालन स्वीकृति प्रदान गरिएको अधिकृत राउतले बताए। उनले यसअघि कात्तिक २३ गतेदेखि वीरगंज महानगरपालिकाले कक्षा ८ देखि १० सम्म सञ्चालन स्वीकृति दिइएका संस्थागत र सामुदायिक विद्यालयहरूको अनुगमन गर्ने क्रममा केही विद्यालयबाहेक अधिकांशले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेकाले थप कक्षा सञ्चालनका लागि तयारी अवस्थाका विद्यालयलाई आजदेखि स्वीकृति प्रदान गरेको बताए। उनले तयारी अपुग भएका विद्यालयले आइतवारसम्म तयारी पूरा गरी कक्षा ६ र ७ को अध्ययन सुचारु गर्न सक्ने उनले प्रस्ट्याए।
बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्ण, प्याब्सन पर्साका अध्यक्ष डा हरिशङ्कर साह, एनप्याब्सनका अध्यक्ष रामसुन्दर चौधरी, नेपाल शिक्षक महासङ्घ वीरगंज महानगरपालिकाका अध्यक्ष विनोद मेहता र सामुदायिक विद्यालयका प्रधानाध्यFपक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्F र प्रतिनिधिहरू सहभागी थिए।