प्रस, परवानीपुर, २ मङ्सिर/
बहुराष्ट्रिय बिस्कुट उद्योग ब्रिटानिया नेपाल प्रालिमा पुनः मजदूर हडताल शुरू भएको छ। वीरगंज–२१ लिपनबिर्ता (परवानीपुर) मा रहेको उद्योग परिसरमा १० दिनदेखि मजदूर नेताहरूको नेतृत्वमा धर्ना प्रदर्शन भइरहेको छ। उद्योग व्यवस्थापनले उद्योगका १२ जना स्थायी मजदूरलाई कामबाट निकालेपछि पुनर्बहाली गर्न माग गर्दै मजदूहरू आन्दोलनमा उत्रेका हुन्।
नेपाली कांग्रेस निकट कारखाना श्रमिक सङ्घ एकाइ अध्यक्ष राजेश्वर महतो कोइरीका अनुसार उद्योगले विनाआधार विभिन्न आरोप लगाउँदै स्थायी मजदूर सुनेश महतो तत्वा, रवीन्द्र दास, वीरेन्द्र महतो, अजीज मियाँ, हसरुद्दीन देवान, कमोदकुमार यादव, लालबाबू महरा, सुनील साह, श्रीकान्त पटेल, सुशील पटेल, रामकिशोर पटेल, पप्पुसाह कलवार गरी १२ जनालाई कामबाट हटाएको छ। श्रम ऐनविपरीत गतिविधि गरेको भन्दै उद्योग व्यवस्थापनले उनीहरूलाई हटाएको हो।
उद्योगले हडतालको कारण उत्पादन, निकासी–पैठारी प्रभावित भएको बताएको छ। मजदूरहरूका अनुसार कात्तिक २२ गते मजदूरहरूले उद्योगमा हडताल गरेको उद्योगको सूचनामा उल्लेख भए पनि त्यो दिन शनिवार, सार्वजनिक बिदा भएको र यस्तै धेरै भूmटा आरोप लगाएको बताएका छन्। मजदूरहरूको हकमा बोल्ने मजदूर नेताहरूलाई तह लगाउन १२ जनालाई हटाउने रणनीतिमा उद्योग रहेको उनीहरूको ठम्याइ छ।
मजदूर ट्रेड युनियन कारखाना श्रमिक सङ्घ एकाइ अध्यक्ष कोइरीले जबसम्म बरखास्त मजदूरहरू पुनर्बहाल हुँदैनन्, आन्दोलन जारी रहने बताएका छन्।
कारखाना प्रबन्धक प्रबोध खेरले उद्योगको बदनामी गर्न मजदूरहरूले बन्द हडताल गरेको बताए। उनले निष्कासित मजदूरबारे कुनै सम्झौता नगर्ने कम्पनीको रणनीति रहेको बताए। उनले भने–“उद्योगमा राजनीति गर्ने र विभिन्न खराब आचरण गर्ने मजदूरलाई निकालिएको हो, उनीहरू अदालती बाटोबाट हक अधिकार खोजून्, उद्योग ठप्प पारी आन्दोलन गर्नुको कुनै अर्थ छैन।” उद्योगले १२ जनालाई उद्योगबाट हटाएकोमा ३५ दिनभित्र श्रम अदालतमा पुनरावेदन गर्न पाउने छन्। ब्रिटानिया नेपाल प्रालिले गुड डे, टाइगर क्रन्च, डाइजेस्टिभ र म्यारी गोल्डलगायत बिस्कुट उत्पादन गर्दै आएको छ। डेढ वर्ष पहिले एक अर्ब १३ करोडमा स्थापना भएको उद्योगमा भारतको वाडिया समूहको लगानी छ। यो उद्योग सिमरामा स्थापना हुने तापनि जग्गा नपाएर वीरगंजका उद्योगी अशोक वैद्यले करीब अढाई बिघा जग्गा बेचेपछि कम्पनी स्थापना भएको थियो।