प्रस, वीरगंज, २५ कात्तिक/
वीरगंजको ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी नै लापरवाह देखिएको छ। सोमवार मात्र महानगरको ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय, पर्साले छलफल गरेको थियो।
छलफलमा ट्राफिक व्यवस्थापनमा स्थानीय जनप्रतिनिधि र महानगरले चासो नदेखाएको भनी सहभागीहरूले दुःखेसो पनि पोखेका थिए।
तर छलफलको भोलिपल्ट आज मङ्गलवार ट्राफिक प्रहरीले घण्टाघरदेखि माईस्थान क्षेत्रमा निजी इन्टरनेट कम्पनीको तार जडानको लागि मुख्य बाटो अवरोध ग–यो।
सघन शहरी तथा भौतिक निर्माण कार्यालयले वीरगंज महानगरको आदर्शनगर चोकदेखि क्याम्पस रोडसम्म र आन्तरिक राजस्व कार्यालय, गीता मन्दिर रोडदेखि माईस्थान चोकसम्म सडक निर्माण शुरू गरेकोले वीरगंजको ट्राफिक केही दिनदेखि अस्तव्यस्त छ। विकास निर्माणको काम सबैको हितमा हो तर ट्राफिकले निजी इन्टरनेट कम्पनीको तार जडानको लागि आज वीरगंजको मुख्य सडक अवरोध गर्दा आलोचना खेप्नुपरेको हो।
वीरगंज मनपाको घण्टाघरदेखि माईस्थानसम्मको मुख्य सडक बन्द गरिएपछि सवारीसाधनहरू यत्रतत्रबाट गन्तव्यतर्फ जानुपरेको थियो।
सो क्रममा महानगरका सहायक सडकहरू पनि सवारीसाधनले जाम हुन पुग्यो।