प्रस, रक्सौल, २५ कात्तिक/
भारत बिहार रक्सौल विधानसभा क्षेत्रमा एनडिए समूहको बिजेपी उम्मेदवार जीत नजीक पुगेका छन्।
भारतीय चुनाव आयोगद्वारा जारी डाटा अनुसार नोभेम्बर १० तारिख मङ्गलवारको दिन बिहान ८ बजेदेखि शुरू भएको मतगणना नतीजा अनुसार बिजेपी उम्मेदवार प्रमोदकुमार सिन्हा जीत नजीक पुगेका हुन्।
मङ्गलवार साँझ पौने ७ बजे समाचार तयार पार्दासम्म उनको मत ५८ हजार १ रहेको छ भने दोस्रो स्थानमा महागठबन्धनबाट काङ्ग्रेसबाट चुनाव लडेका रामबाबूप्रसाद यादवले २९ हजार ५ सय ६ मत ल्याएका छन्।
त्यसैगरी, तेस्रो स्थानमा सुरेशकुमार यादव रहेका छन्। उनले २२ हजार ८ सय ४७ मत ल्याएका छन्।
रक्सौल विधानसभा क्षेत्रका भाजपाबाट वर्तमान विधायकसमेत रहेका डा अजयकुमार सिंह मायावतीको बुहजन समाजवादी पार्टीबाट चुनावी मैदानमा उत्रेका थिए। उनी ९ हजार ९ सय २० मत हासिल गरी चौथो स्थानमा रहेका छन्।
समाचार तयार पार्दा बिहारमा एनडिए समूहले नै सरकार बनाउने सम्भावना देखिएको छ।
मतगणनाको ५ घण्टासम्म महागठबन्धनले बढत बनाएको थियो भने दिउँसो १२ बजेपछि एनडिएले महागठबन्धनलाई पछि पारेको थियो।
साँझ पौने सात बजेसम्म एनडिए १२४ सिट, महागठबन्धन १११ सिट र ८ सिटमा अन्य उम्मेदवारले बढत बनाएका छन्।
मङ्गलवार अबेर रातिसम्म बिहार विधानसभा चुनावको नतीजा आउने भारतीय चुनाव आयोगको आकलन छ।