प्रस, वीरगंज, २२ कात्तिक/
सांसद प्रदीप यादवले नेकपा सरकार जनतालाई दुःख परेको बेलामा पनि सत्ता र पार्टी जोगाउन व्यस्त रहेको आरोप लगाए।
जनता समाजवादी पार्टी वीरगंज महानगर–२१ वडा एकाइ समिति परवानीपुरद्वारा आयोजित कार्यक्रममा सांसद यादवले नेकपा सरकारको लागि जनताभन्दा सत्ता प्यारो भएको आरोप लगाए। उनले देश र जनता इतिहासकै एक कठिन समयबाट गुज्रिरहेको बेला कम्युनिस्ट सरकारले जनताको परवाह नगरी सत्ताको पाठ मात्र पढिरहेको बताए।
उनले कोरोना कहरमा सरकारले जनतालाई राहत दिन नसकेको, स्वास्थ्य जस्तो संवैधानिक अधिकारबाट जनतालाई वञ्चित पारेको बताए। उनले प्रतिपक्षको भूमिका पनि सन्तोषजनक नभएको बताए। उनले मधेसमा सङ्घर्षरत जनता समाजवादी पार्टीले जनताको हकअधिकारका लागि लडिरहने बताए। कार्यक्रममा प्रदेशसभा सदस्य जन्नत अन्सारी, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, संसदीय प्रतिनिधि घनश्याम गुप्ता, समाजवादी युवा फोरमका केन्द्रीय सचिव सरोज यादवलगायत सहभागी थिए। एकाइ अध्यक्ष निरञ्जन पटेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण राधाकृष्ण रौनियारले गरेका थिए।