प्रस, सेढवा, २२ कात्तिक/
थारू पत्रकार सङ्घ नेपाल, पर्सा शाखाको आयोजनामा शनिवार शुभकामना आदानप्रदान कार्यक्रम भएको छ।
जीराभवानी गाउँपालिका–३ वडा कार्यालयको सभाहलमा आयोजित शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश उपाध्यक्ष केसी लामिछानेले पर्सामा थारू समुदायको जनसङ्ख्याको अनुपातमा पत्रकारिता गर्ने सङ्ख्या कम भएको बताए। उनले यसमा स्थानीय सरकारको भूमिका प्रभावकारी हुने बताए। उनले थारू समुदायमा आर्थिकरूपमा सबल व्यक्तिहरूले संस्थागतरूपमा पत्रकारितामा लगानी गरे यसको विकास सम्भव हुने दाबी गरे।
कार्यक्रममा ठोरी गापाका अध्यक्ष पद्मलाल श्रेष्ठले थारू समुदायमा पेशागत पत्रकारिताको विकासका लागि गाउँपालिकाले सहयोग गर्ने बताए। उनले पत्रकारलाई आचारसंहितामा रहेर समाचार सम्प्रेषण गर्न सुझाए। उनले आफ्नो गापामा थारू समुदायको बाहुल्यता रहेकोले पत्रकारिता क्षेत्रको विकासका लागि सहकार्य गर्ने बताए।
जीराभवानी गापाका अध्यक्ष रामप्रीत महतोले पेशागत पत्रकारिता विकासका लागि आवश्यक तालीम, गोष्ठी तथा अन्य कार्यक्रम सञ्चालनमा गाउँपालिकाको सहयोग रहने बताए। उनले पत्रकारिताको विकाससँगै थारू समुदायमा विद्यमान कुरीति तथा विसङ्गति हटाउन जरुरी रहेको भन्दै पत्रकारिताको माध्यमबाट थारू समुदायको लोप हुँदै गएका परम्परा, संस्कृति जोगाउन सकिने बताए।
थारू पत्रकार सङ्घ नेपाल, पर्सा शाखाका अध्यक्ष ओमप्रकाश चौधरीको सभापतित्व तथा थारू कल्याणकारी समिति पर्साका कार्यवाहक अध्यक्ष ठाकुरप्रसाद महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जीराभवानी गापाकी उपाध्यक्ष उषादेवी थरुनी, पटेर्वासुगौली गापाकी उपाध्यक्ष ममता महतो, फोनिज प्रदेश नं २ का संयोजक नीरज पीठाकोठे मगर, नमूना विद्यालय औराहा पंचगावाँका प्रधानाध्यापक शिवनाथ चौधरी, मावि जीतपुर नौकाटोलाका प्रअ रामाशङ्कर चौधरी, मावि सेढवाका प्रअ जीतेन्द्र गौरो, वडाध्यक्ष उमेशकुमार सिंहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा स्वागत थारू मेलमिलापका अध्यक्ष मनोज चौधरी र सहजीकरण थारू पत्रकार सङ्घ नेपाल पर्सा शाखाका सचिव दीपेन्द्र चौधरीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here