प्रस, बिरुवागुठी, १७ कात्तिक/
लकडाउनमा नेपालका विभिन्न स्थानमा रहेर काम गर्दै आएका र भारतमा वैदेशिक रोजगारमा गएकाहरू गाउँ फर्केपछि बाख्रापालनमा सक्रिय भएका छन्।
गाउँघरमा बाख्रापालन गरेर उनीहरूले मनग्य आम्दानी गरिरहेका छन्। पटेर्वासुगौली गाउँपालिका–४ पटेर्वाका चन्द्रकिशोर चौधरीले लकडाउनमा रोजगारको सिलसिलामा बाहिर गएकाहरू घरमा आएर बाख्रापालनमा आकर्षित भएको बताए। उनले बैंकबाट ऋण लिएर गरिएको बाख्रापालनको आम्दानीबाट अहिले बैंकको सावाँ–ब्याज तिरेर घर खर्च पनि टरिरहेको बताए।
पटेर्वासुगौली गापा–३ की सुनैनादेवी थरुनीले बाख्रापालन गरेर मनग्य आम्दानी भइरहेको बताइन्। उनले सानो बाख्रा पालेर बेच्दा १८ देखि २५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको बताइन्। १३ वटा बाख्रा र ४ वटा बोका गरी १७ वटा बाख्रा उनीसँग छ।
यसैगरी, टोलमा १० देखि १५ वटा बाख्रापालन गर्नेहरूको समूह पनि बढेको छ। पटेर्वासुगौली गापा–४ की चम्पा देवीले घरको काम गरेर बाख्रापालन गर्दै आएको बताइन्। उनले बाख्रापालनबाट पतिले भन्दा आफूले बढी आम्दानी गरिरहेको दाबी गरिन्।
चम्पा देवीले बाख्रापालनबाट कम लगानीमा बढी कमाउन सकिने बताइन्। यसतर्फ अन्य महिलाहरू पनि सक्रिय हुनुपर्ने उनको भनाइ छ।
घरायसी काम गरेर दिउँसो बाख्रालाई समय दिंदा पनि पुग्ने हुनाले यो व्यवसाय महिलाहरूको लागि उत्तम हुने उनको ठम्याइ छ।