प्रस, वीरगंज, १७ कात्तिक
पर्सा प्रहरीले मुकेश चौरसिया हत्या मुद्दाका एकजना फरार आरोपितलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा, विन्ध्यवासिनी गाउँपालिका–५ प्रसौनीका ३५ वर्षीय उत्तम तिवारी रहेका छन् । उनलाई प्रहरीले वीरगंज–१६ इनर्वाबाट आइतवार साँझ पक्राउ गरेको प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी गराइन् । तर समाचार स्रोतका अनुसार भारतीय प्रहरीको सहयोगमा पर्सा प्रहरीले तिवारीको ससुराली बिहार, पूर्वी चम्पारण अरेराजबाट पक्राउ गरेको चर्चा छ ।
मुकेशको हत्या मुद्दामा उत्तम तिवारी भन्ने निरञ्जन तिवारीमाथि किटानी जाहेरी परेको छ । उत्तमका भाइ चिन्टु तिवारी भन्ने शङ्कर तिवारी अहिले पनि फरार छन् । कात्तिक ६ गते बिहीवार झडप हुँदा सामान्य घाइते भएका उत्तम र चिन्टु उपचारको क्रममा प्रहरीलाई झुक्याएर आकस्मिक कक्षबाट आइसियूमा सिफ्ट हुने क्रममा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट फरार भएका थिए ।
मुकेश हत्याकाण्डमा पूर्वसभासद् राजकुमार गुप्तासहित १२ जनामाथि किटानी जाहेरी दर्ता भएकोमा देवा सहनी, हनिफ मियाँ र उत्तम तिवारी गरी तीनजना पक्राउ परिसकेका छन् भने ९ जना अझै फरार छन् ।