प्रस, सेढवा, १४ कात्तिक/
पर्साको ग्रामीण क्षेत्रका सडकहरू निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा स्थानीयले समस्या भोग्नुपरेको छ। वर्षायाममा हिलाम्य हुने गरेको सडकखण्डहरू अहिले धूलोको कारण समस्या भएको हो।
हुलाकी, थरूहट, वीरगंज–ठोरी सडकखण्ड अहिले धूलाम्य भएको छ। जीराभवानी गाउँपालिका–२ सेढवाका अतुलकुमार उपाध्यायले सडकमा धूलोको कारण सवारीसाधनहरूका साथै पैदल हिंड्ने क्रममा पनि समस्या भोग्नुपरेको बताए। दैनिक यात्रीवाहक बस, ट्रक, टिपर, ट्याक्टर, साइकल, मोटरसाइकलको आवागमन हुने यी सडकखण्डमा निर्माण कार्य कछुवा गतिमा भएको कारण ढिलाइ भएको छ। निर्माणको क्रममा धूलो उड्न नदिन पानी छर्ने ट्याङ्की ठेकेदारसँग भएपनि सोको उपयोग गरिएको छैन। जनताले विरोध गरेको खण्डमा मात्र स्थानीय पालिकाले ठेकेदारलाई पानी छर्न दबाब दिने गरेको छ। अहिले दबाब नदिएको कारण धूलाम्य सडकमा ठेकेदारले पानी छर्ने गरेको छैन।
ठोरी गाउँपालिका–४ निर्मलबस्तीका भक्तबहादुर श्रेष्ठले वीरगंज आउजाउ गर्दा सडक धूलाम्य हुँदा समस्या हुने गरेको बताए।