प्रस, वीरगंज, १४ कात्तिक/
जिल्ला प्रशासन कार्यालय, बाराले बुधवार राति सुवर्ण गाउँपालिका–२ मा घटित घटना सम्बन्धमा छानबीन गर्नको लागि प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद यादवको संयोजकत्वमा चार सदस्यीय छानबीन समिति गठन गरेको छ।
बुधवार राति तीनवटा मोटरसाइकलमा भारतबाट भिœयाइएको सात बोरा प्याज प्रहरीले बरामद गरी इलाका प्रहरी कार्यालय कबहीगोठमा राखेको र सो प्याजलाई राति जिप्रका बारा ल्याउने क्रममा स्थानीयले अवरोध गर्दा झडप भएको घटनामा तीनजना प्रहरीसहित एकजना १४ वर्षीय नाबालक रञ्जनकुमार यादव प्रहरीको गोली लागेर घाइते भएको सम्बन्धमा छानबीन समिति गठन भएको हो।
जनता समाजवादी पार्टी बाराले बिहीवार कलैयामा प्रदर्शन गर्दै घटनाको छानबीन गर्न माग गरेको थियो। १४ वर्षीय यादव टाउकोमा गोली लागी गम्भीर घाइते भएका छन्। उनको नारायणी वयोधा अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयले प्रहरीको सवारीसाधन तोडफोड गर्नुका साथै प्रहरीमाथि आक्रमण गर्दा तीनजना प्रहरी घाइते भएको बारा प्रहरीको भनाइ छ।
समितिलाई छानबीन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न समय प्रदान गरिएको छ।