प्रस, वीरगंज, १२ कात्तिक/
    विन्ध्यवासिनी गाउँपालिका–५ मा कात्तिक ६ गते भएको झडपको क्रममा मृत्यु भएका मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाईको माग गर्दै बुधवार जिल्ला प्रशासन कार्यालय, पर्सामा ज्ञापनपत्र बुझाइएको छ।
    नेकपा विन्ध्यवासिनी गाउँपालिका कमिटीका अध्यक्ष विक्रम चौरसियाले प्रमुख जिल्ला अधिकारी आसमान तामाङमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। विगत ६ दिनदेखि जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना तथा पुतला दहन गर्दै आएका नेकपाका नेता, कार्यकर्ताहरूले आज –याली प्रदर्शन गरेका थिए। जिप्रका, पर्साको गेटअगाडिबाट निस्किएको –याली नगरपरिक्रमापछि जिल्ला प्रशासन कार्यालयमा पुगी ज्ञापनपत्र बुझाइएको थियो। प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले प्रहरी उपरीक्षक गङ्गा पन्तको पुतला दहन गरेका थिए।
    नगरअध्यक्ष रहबर अन्सारीले ज्ञापनपत्र वाचन गर्दै निवेदकको जाहेरी दर्ता गरी अपराधीमाथि कारबाई, स्व चौरसियालाई शहीद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको निश्शुल्क उपचार र जिल्लालाई बदनाम गर्ने पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तलाई कारबाईको माग गरेका थिए। ज्ञापनपत्रमा प्रदेश २ को सिफारिश अनुसार शपथग्रहणको आयोजना भएको र सोमा केही व्यक्तिले बाँसको फाटा लिएर झन्डा जलाउने र ब्यानर च्यात्ने क्रममा सो कार्य रोक्न जाँदा चौरसियाको टाउकोमा केही व्यक्तिले फाटाले हिर्काउँदा उनको उपचारको क्रममा मृत्यु भएको उल्लेख छ। विगत ६ दिनदेखि शवगृहमा चौरसियाको शव कुहिंदै गएको तर निवेदकको माग अनुसार जाहेरी दर्ता नगरेको कारण आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको उल्लेख गरिएको छ। निवेदकले दिएको जाहेरीबाट प्रहरीले दबाब दिएर आफूखुशी नाम हटाउन र राख्न भनी सच्याएर ल्याउन भनेपछि अहिलेसम्म मुद्दा दर्ता नगरिएको ज्ञापनपत्रमा उल्लेख छ।
    माथिल्लो दबाब भन्दै पर्सा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको ज्ञापनपत्रमा उल्लेख छ। तीन दिनअगाडि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पीडित तथा राजनीतिक दलबीच भएको छलफलमा प्रहरीले दुःख दिने काम मात्र गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। ज्ञापनपत्र बुझाउन जिल्ला इन्चार्ज रामचन्द्र साह, संविधानसभा सदस्य बिचारी यादव, नेता शम्भु गुप्ता, बालगोपाल थापा, मनोज चौधरी, अरुण यादवलगायतको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here