प्रस, पंचगावाँ, १२ कात्तिक/
    स्थानीय पालिकाले किसानहरूलाई लक्षित गरेर नीति तथा कार्यक्रममा बजेट विनियोजन गरे पनि सोअनुरूप कार्य गरेको पाइएको छैन।
    अहिले आलुखेती गर्ने किसानहरूलाई गुणस्तरीय बीउको अभाव भएको छ। कुनै पनि पालिकाले किसानहरूको लागि गुणस्तरीय आलुको बीउको व्यवस्था गरेको छैन। जसले गर्दा किसानहरू गुणस्तरहीन आलु किन्न बाध्य छन्। सखुवाप्रसौनी गाउँपालिका–३ का प्रभु यादवले पालिकाले किसानलाई लक्षित गरेर बजेट बनाए पनि सोअनुरूपको व्यवस्थापन नगरेको आरोप लगाए। उनले आलुको बीउ किन्न अहिले किसानहरूलाई समस्या भएको र पालिकाले त्यसको व्यवस्थापन नगर्दा समस्या भोग्नुपरेको बताए।
    हिउँदे बालीमा प्रत्येक वर्ष आलु, गहुँ, मुसुरो, तोरीको बीउ पालिकाहरूले किसानका लागि ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएका थिए तर यसपटक वितरण नहुँदा किसानहरू सीमावर्ती भारतको रक्सौल, इनर्वा, सिकटा, भेलाही, मैनाटार, भङ्गाहालगायतका पसलहरूमा पुग्न बाध्य भएका छन्। त्यहाँ उनीहरूले प्राप्त गर्ने बीउको गुणस्तरीयता मापन गर्ने प्रविधि छैन। बीउबिजक भण्डारले दिएको बीउमैं किसानहरू आश्रित हुनुपरेको छ। यसैले गुणस्तरहीन बीउले बेलाबेलामा किसानहरूलाई आर्थिक क्षति हुने गरेको छ।
    गाउँटोलमा रहेका बीउबिजक भण्डारबाट पनि केही किसानले बीउ खरीद गर्ने गरेका छन् तर सोमा पनि विश्वस्त हुने आधार छैन। पालिकाले वितरण गर्ने बीउ गुणस्तरीय हुनुका साथै अनुदानमा पाउँदा किसानहरूलाई राहत हुने गरेको थियो। यसपटक पालिकाले आलुको बीउलगायत हिउँदे बालीका लागि आवश्यक गहुँ, मुसुरो, तोरीको बीउ उपलब्ध नगराउँदा उत्पादनमा कमी आउने किसानहरू बताउँछन्।
    गापाका कृषि शाखाले भने यसपटक बीउ वितरणका लागि बजेट नछुट्याएकोले वितरण नगरिएको बताएका छन्।
    नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा किसानहरू लक्षित बजेट बनाइएको पालिकाहरूले दाबी गर्दै आए पनि त्यो फगत प्रचारबाजी मात्रै भएको अहिले पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here