प्रस, वीरगंज, ५ कात्तिक/
जिल्ला कृषि सहकारी सङ्घ लि. पर्साको बडा दशैं, दीपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम मङ्गलवार कृषि ज्ञान केन्द्र, वीरगंजको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अनुदानको मलखाद वितरण निर्देशिका २०७७ जारी गरेकोमा सो अनुसार स्थानीय तहबाट समन्वय गरी मलखादको कारोबार गर्ने र कृषि सहकारी संस्थाहरूको समस्या, सरोकारवाला निकायले गर्ने सहयोग, सहकार्यबारे छलफल भएको थियो। मन्त्रालयले निर्देशिका जारी ग–यो, तर स्थानीय तह बेखबर भएकोले यस वर्ष पनि समयमा मलखाद, बीउबिजन नपाउने तर गहुँ, तेलहनबालीका लागि नितान्त आवश्यक बीउ–खाद स्थानीय तहसँग समन्वय गरी सहज उपलब्धताको प्रयास गरिने सङ्घका अध्यक्ष शिवकुमार साहले बताए। जिल्ला कृषि सहकारी सङ्घ लि. पर्साका अध्यक्ष शिवकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादव, कृषि सामग्री कम्पनी लि. प्रादेशिक कार्यालय, वीरगंजका प्रमुख गोरखनाथ केसी, लेखा प्रमुख शिवबहादुर बुढाथोकी, साल्ट ट्रेडिङ कर्पोरेशन लि. प्रादेशिक कार्यालय वीरगंजका सञ्जय साह, युवा तथा साना व्यवसायी स्वरोजगार कोष पर्साका संयोजक सुनील रौनियार र सहकारीकर्मीहरूले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सङ्घका लेखा समिति संयोजक अरविन्द कुमार साहले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष अनिरुद्धप्रसाद चौधरीले गरेका थिए।