प्रस, सप्तरी, ४ कात्तिक/
सप्तरीको कञ्चनरूप नगरपालिका–६ जमुवामा थारू सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण भएको छ।
थारू समुदायको ऐतिहासिक, धार्मिक परम्परा एवं संस्कृति र जनजीवनलाई जीवन्त राख्ने र पर्यटन प्रवर्धनमा टेवा पु–याउने उद्देश्यले सङ्ग्रहालय भवन निर्माण भएको हो। निर्माण सम्पन्न भवनको कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले उद्घाटन गरेका थिए।
एक कट्ठा क्षेत्रफलमा रु ६८ लाख ७५ हजारको लागतमा दुई तलाको सङ्ग्रहालय भवन निर्माण भएको पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीले बताए। वन तथा वातावरण मन्त्रालयबाट प्राप्त रु ५५ लाखको विशेष आर्थिक सहयोग तथा जनश्रमदानबाट रु १३ लाख ७५ हजार गरी कुल रु ६८ लाख ७५ हजारमा सो भवन निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष चौधरीले बताए।
निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा कञ्चनरूप नगरपालिकाका प्रमुख वसन्त मिश्रले थारू जातिको कला, संस्कृतिको संरक्षणका लागि सांस्कृतिक सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने र नगरकै आर्थिक समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
सङ्ग्रहालय भवननजीकै कोशीटप्पु वन्यजन्तु आरक्ष, त्रियुगा र सप्तकोशी नदी, चन्द्र शम्शेरले बनाएको नेपालकै जेठो चन्द्र नहर, प्रसिद्ध धार्मिकस्थल चतरा र बराह क्षेत्र छन्। त्यसैगरी, सामुदायिक वन, चुरे क्षेत्र पनि आसपासमा नै रहेकाले यसैलाई आधार बनाएर सांस्कृतिक क्षेत्रको रूपमा विकास गर्न खोजिएको स्थानीय थारू अगुवाहरूको भनाइ छ।