कुनै पनि स्थानको विकासका लागि मुख्यतः तीनवटा भौतिक पूर्वाधारको खाँचो पर्छ। ती हुन्– सडक, सञ्चार र बिजुली। यी तीन पक्षमा पनि सडक सबैभन्दा महत्वपूर्ण पक्ष हो। भनिन्छ, ‘सडक सँगसँगै विकास दौडन्छ।’ सडक पुगेको स्थानमा कुनै पनि उद्यम गर्दा सोको बजार व्यवस्थापन सहज हुन्छ। सडक सुविधा भएको स्थानका बासिन्दा बजारसँग जोडिने भएकाले त्यहाँको जनशक्तिले पनि बजार पाउँछ। त्यसैगरी, सडक सुविधा भएको क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा र शिक्षा आर्जनमा पनि सहज हुन्छ। सडक पुगेको स्थानमा बाहिरका मानिस पुग्ना साथै राज्यको पनि ध्यान जाने भएकोले त्यस्ता स्थानका समस्याहरू जतिसक्दो छिटो समाधान गर्नेतर्फ जिम्मेवार पक्ष्Fको तदारुकता रहन्छ। भरपर्दो सडकको पहुँच नभएका जिल्लाहरू अझै पनि विकासको गतिमा निकै पछाडि छन्।
पर्सा जिल्लाको एउटा किनारामा जिल्ला सदरमुकाम तथा वीरगंज महानगरपालिका पर्छ। भौतिक पूर्वाधारको दृष्टिले वीरगंज क्षेत्र विकासोन्मुख देखिए पनि महानगरकै धेरैवटा वडा गाउँपालिकाका वडाहरूसँग दाँज्न पनि नमिल्ने किसिमका छन्। सडक समस्याको कारण यो अवस्था आएको होे। सबैतर्फ व्यवस्थित सडक विस्तार भइदिएको भए त्यो अवस्था रहने थिएन। पुरानो वीरगंज नाघेर अगाडि बढ्ने बित्तिकै वर्षामा हिलो र सुक्खामा छारो धूलो भएको सडक पाइन्छ। कच्ची सडक नै भएपनि सामान्य मापदण्डसमेत पूरा भएका छैनन्। हिउँदयाममा पनि एम्बुलेन्स, वारुण यन्त्रलगायतका अति आवश्यक सवारीसाधनहरूसमेत वर्कीफर्की गर्न नसक्ने किसिमका सडकहरू राखिएका छन्। अतः सडकलाई जुन प्राथमिकता दिनुपर्ने हो, त्यो प्राथमिकता पर्सामा दिइएको छैन। त्यसैले त मुलुकको मुख्य प्रवेशद्वार साथै महानगर रहेको जिल्ला भएर पनि यहाँको अवस्था दयनीय छ। फेरि पनि यस जिल्लालाई अवसरहरू भने जुरि नै रहेको छ। वीरगंज–ठोरी हुलाकी सडक निर्माण कार्य जारी छ। नेपाल–भारत सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न हुने यस योजनाका लागि विभिन्न चरण सम्पन्न गरिनेमध्ये वीरगंज–ठोरी खण्डलाई पहिलो चरणमा सम्पन्न गर्ने निर्णय भएको थियो। यसरी तय भएको पनि एक दशक बितिसकेको छ। जिल्लाका अगुवा जनप्रतिनिधिहरूले चासो नदिएका र स्थानीय नागरिकले पनि प्राथमिकतामा नराखेको कारण योजनाले गति लिन सकेन र अझै पनि सडक निर्माण योजना कछुवाको चालमा घस्रिरहेको छ।
हुलाकी सडकले पर्सा जिल्लाका १४ वटामध्ये ६ वटा पालिकालाई प्रत्यक्षरूपमा छिचोलेर अगाडि बढेको छ। अन्य ८ वटा पालिका थोरै आसपासका क्षेत्रमा रहेकाले यो सडक सम्पन्न हुँदा जिल्लाका १४ वटै पालिका प्रत्यक्षरूपमा लाभान्वित हुनेछन्। जिल्लाका सबै पालिकालाई एउटै योजनाले लाभान्वित गर्न सक्ने वा समेट्न सक्ने योजना भनेको ‘हुलाकी सडक’ मात्रै हो। यो योजना जति छिटो सम्पन्न हुन्छ, जिल्लाको विकासले त्यति नै छिटो फड्को मार्नेछ। सडक निर्माणमा अवरोध पु–याउने वा विलम्ब गर्ने पक्ष वास्तवमा जिल्लाको विकास एवं अग्रगतिका बाधक हुन्। योजना समयमैं सम्पन्न गर्नुपर्छ भन्नेमा तीनै तहका जनप्रतिनिधिले समेत चासो देखाएका छैनन्। निर्माण कम्पनीले मनोमानी तरीकाले योजना निर्माण गर्दा समेत जनप्रतिनिधिहरू मूकदर्शक बनेका छन्।