प्रस, जनकपुरधाम, २ कात्तिक/
प्रदेश २ मा हालसम्म कोरोना सङ्क्रमण पुष्टि भएका कुल सङ्ख्या १४ हजार ६२० पुगेको छ।
प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६२० जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ। यीमध्ये १२ हजार २७२ जना निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए।
यस अवधिमा प्रदेशमा कोभिड–१९ महामारीले १५९ जनाको ज्यान गएको छ। सङ्क्रमण पुष्टि भएर हाल आइसोलेशनमा १ हजार ६८९ जना छन्। सोमध्ये अधिकांश लक्षण मुक्त रहेको निर्देशनालयले जनाएको छ।
प्रदेशका ८ वटा जिल्लामध्ये बितेको चैतको अन्त्यतिर पर्सा वीरगंजमा तीनजना भारतीय जमातीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सोयता बढ्दो सङ्क्रमण सबैभन्दा धेरै भदौ महीनामा सङ्क्रमण उच्च देखिएको निर्देशनालयले जनाएको छ। भदौ एक महीनामा मात्रै यस प्रदेशमा पाँच हजारजनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको प्रदेश निर्देशनालयले जनाएको छ। भदौमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि अरू महीनाभन्दा बढी ६६ छ। यस प्रदेशमा बितेको वैशाख महीनामा ९२ जना, जेठमा १९१९, असारमा १८९७ र साउनमा ३०५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।