राधेश्याम पटेल, वीरगंज, २९ असोज/
    प्रदेश २ कृषि उपजको लागि मुख्य प्रदेश हो । धान तथा गहुँ बालीको मुख्य पाकेट क्षेत्रको उर्वर भूमिको रूपमा सप्तरी जिल्ला चिनिन्छ । विभिन्न बाली उत्पादन गर्ने क्रममा कोशी पम्प चन्द्र नहर सिंचाइ व्यवस्थापन कार्यालयले अहम् भूमिका निर्वाह गरेको देखिन्छ ।
    ५० वर्ष पहिले स्थापना भएको यो कार्यालय अन्तर्गत तीनवटा सिंचाइ प्रणाली सञ्चालनमा छन् । कोशी नदीबाट पानी ल्याएर करीब २६ हजार हेक्टर सिंचाइ गर्न कोशी पम्प नहर सिंचाइ प्रणाली र कोशी पश्चिमी वितरण नहर सिंचाइ प्रणाली सञ्चालनमा छन् ।
    त्रियुगा नदीबाट पानी ल्याएर नहरको माध्यमबाट किसानको खेतखेतमा पानी पु¥याउने चन्द्र नहरले पनि जिल्लाको सिंचाइको क्षेत्रमा अहम् भूमिका निर्वाह गरेको देखिन्छ ।
    सन् १९७१ मा शुरू भएको कोशी पम्प नहर सिंचाइ प्रणाली र कोशी–पश्चिमी वितरण नहर सिंचाइ प्रणालीको संरचना अहिले जीर्ण बन्दै गएको छ । नेपाल सरकारको उदासीनताको कारण ती सिंचाइ परियोजनाको भौतिक पूर्वाधार तथा संरचना पुनर्निर्माण हुन नसकेको किसानहरूको भनाइ छ ।
    भारत सरकारको सहयोगमा बनेको यस परियोजनाको मरम्मत–सम्भार तथा पुनर्निर्माण गर्न भारत सरकार तयार भएपनि चार वर्षदेखि उक्त परियोजनाको पुनर्निर्माण प्रक्रिया रोकिएको छ । नेपालका प्राविधिक तथा सरकारी पक्षले पुनर्निर्माणका लागि करीब चार अर्ब रुपैयाँको लगत इस्टिमेट दिएपछि ती सिंचाइ प्रणालीको पुनर्निर्माण हुन नसकेको बताइएको छ ।
    कोशी पम्प चन्द्र नहर सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद साहले कोशी पम्प नहर सिंचाइ प्रणाालीको दुई हजार केभिएको ट्रान्सफर्मरमध्ये एउटा ट्रान्सफर्मर बिग्रिसकेको बताए । अर्को सञ्चालनमा रहेको ट्रान्सफर्मरमा खराबी उत्पन्न भयो भने पानी लिप्mटिङ कार्य पनि रोकिने छ । यसमा दुईवटा पम्प हाउस छन्– पम्प हाउस ‘ए’ र पम्प हाउस ‘बी’ । जसमा अधिकांश विद्युतीय र मेकानिकल मेशिन तथा पार्टपुर्जा जीर्ण भएको उनले बताए ।
    कोशी पम्प हाउसको एमओसिबी (मिनिमम आयल सर्किट, ब्रेकर) इन्टरनल सिटी/पिटी, मिटरिङ युनिट, फिल्ट्रेशन प्लान्टलगायत संरचना जीर्ण भएका छन् । कोशी पम्प हाउस ‘ए’ र ‘बी’मा प्रतिहाउस चारवटा २.७५ क्युमेक र दुईवटा १.५ क्युमेक पानी फाल्ने मोटर पम्प जडान गरिएका छन् । पम्प ‘ए’ले २१ फिट माथि नहरमा पानी फाल्छ भने ‘बी’ले २९ फिट उचाइमा निर्माण गरिएको नहरमा पानी पु¥याउँछ । ‘ए’ र ‘बी’ पम्प हाउसको १४ क्युमेक पानी फाल्ने क्षमता छ, तर ३३ किलोमिटर लामो नहरले २६ हजार ३ सय ६२ हेक्टर क्षेत्रफल सिंचाइ गर्दै आएको छ । सरकारले बर्सेनि दिनुपर्ने बजेटको अभावका कारण नहरको मरम्मत–सम्भार तथा अन्य काममा समस्या भइरहेको छ ।
                 (स्थलगत रिपोर्टिङ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here