प्रस, परवानीपुर, २९ असोज/
    बाराको प्रसौनी गाउँपालिका स्वास्थ्य चौकीको प्रयोगशालाले गलत रिपोर्ट दिएर बिरामीलाई झुक्याउने काम गर्ने गरेको घटना सार्वजनिक भएको छ । प्रसौनी–१ नकटुवाकी २५ वर्षीया प्रतिमा पटेलको मङ्गलवार गरिएको रगत परीक्षणमा गलत रिपोर्ट दिएको पुष्टि भएको छ ।
    स्वास्थ्य चौकीको प्रयोगशालाले परीक्षण गर्दा बिरामीको रगतमा ८५ हजार प्लेटलेट र ८.२ हेमोग्लोबिन देखिएको थियो । प्रतिमालाई चार दिनअघि हल्का ज्वरो आएको थियो । मङ्गलवार टाउको र जीउ एकदमै दुखिरहेकोले रगत परीक्षण गराइ स्वास्थ्य उपचारको लागि गाउँपालिकाको स्वास्थ्य चौकी गएकी थिइन् । तर हचुवाको भरमा रगत परीक्षण गरी न्यून हेमोग्लोबिन र प्लेटलेट देखाएपछि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले डेंगु भएको हुन सक्ने चिन्ता प्रकट गरे । त्यसपछि बिरामीलाई वीरगंजको अस्पतालमा उपचार गराउन सुझाव दिएर पठाइयो ।
    बिरामी प्रतिमाको परिवारले वीरगंज बिर्तास्थित डा उदयनारायण सिंहको क्लिनिकमा साँझ ४ बजे परीक्षण गराउँदा रगतको सिबिसी परीक्षण गरियो, जसमा हेमोग्लोबिन ११.२८ र प्लेटलेट दुई लाख देखियो । त्यसपछि गाउँपालिकाको प्रयोगशालाले गलत रिपोर्ट दिएको पुष्टि भयो । गलत रिपोर्टको कारण बिरामीमा डेंगु रोगको त्रास उत्पन्न भएकोले यस्तो अवस्थामा बिरामीलाई मानसिक तनाव थपिएको उनको परिवारले बताएको छ ।
    यस विषयमा गापा प्रयोगशाला प्रमुख छोटेलाल दास तत्वाले मेशिनबाट सिबिसी काउन्ट नगरिएकोले मात्रा कम आएकोले भरपर्दो रिपोर्ट नआएको स्वीकार गरे । गापा स्वास्थ्य संयोजक सुरेश साहले पीडित बिरामीले दुवै रिपोर्टको प्रमाण राखेर उजूरी गरेको अवस्थामा छानबीन गरी कर्मचारीलाई कारबाई गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here