प्रस, वीरगंज, २८ असोज/
वीरगंजमा कात्तिक १ गतेदेखि पुनः निषेधाज्ञा लगाइने हल्ला निराधार हो । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार अवस्था यस्तै सामान्य रह्यो भने बन्दाबन्दी वा निषेधाज्ञा नलगाउने प्रशासनको तयारी छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले निषेधाज्ञाको हल्ला चले पनि त्यो भ्रामक हल्ला हो, त्यसका पछाडि नलाग्न आग्रह गरे । “बजार बन्द हुने, निषेधाज्ञा लगाउने हल्ला छ,” उनले भने, “नेपाल सरकारले निर्णय गरे मात्र विषम परिस्थितिमा निषेधाज्ञा लाग्छ, नत्र बजार बन्द गर्ने र निषेधाज्ञा लगाउनुपर्ने कुनै आवश्यकता छैन ।” हाल कोरोना सङ्क्रमण न्यून बन्दै गएपछि सामान्य बनेको पर्सा जिल्लामा विनातथ्य हल्लाले जनतामा भ्रम सृजना गरेको स्थानीय प्रशासनले दाबी गरेको छ ।