ओमप्रकाश चौधरी, सेढवा, २८ असोज/
पर्साको ग्रामीण भेगका मानिसहरू कात्तिकी कामले भ्याइनभ्याइ अवस्थामा छन् ।
जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी, जीराभवानी गाउँपालिकालगायत क्षेत्रका मानिसहरू हिन्दूको महान् पर्व दशैं, तिहार तथा छठ पर्व नजिकिएपछि घरआँगनको सरसफाइका साथै खेतबारीको सरसफाइ, खनजोतमा व्यस्त भएका छन् । सँगसँगै उनीहरू हिउँदे तरकारी बाली रोप्ने कार्यमा पनि व्यस्त भएका छन् ।
गाउँघरमा दशैं, तिहार, छठ पर्व आगमनको तयारीमा गरिने यस प्रकारका गतिविधिलाई नै कात्तिकी काम भन्ने गरिन्छ । गाउँघरमा रहेका कच्ची घर वर्षाले बिगारिदिएको यो महीनामा विशेषरूपमा मरम्मत सम्भार गरिन्छ । ग्रामीण महिलाहरू घरका भित्ता तथा भुइँको मरम्मतमा अहिले व्यस्त छन् । खेतबारीबाट पहेंलो माटो ल्याएर धानको भुस र गोबरमा मिलाएर मुछेर खरको भित्ता, भुइँ लिपपोत गर्ने कार्य अहिले घरघरमा भइरहेको छ ।
पटेर्वासुगौली गाउँपालिका–३ की राजकुमारी देवीले चाडबाड मुखमा भएकोले घर लिपपोत गरी सुन्दर बनाउन लागेको बताइन् । उनले चाडपर्वसँगै भदई मन्सुली धान भिœयाउने काम सकिएको र अब अगहनी धानको लागि सुरक्षित भण्डारण गर्न भकारी बनाउने र भएको भकारीको मरम्मत सम्भार गर्ने काममा ग्रामीण महिलाहरू लागिपरेको बताइन् । यसको साथै खेतबारीमा हिउँदे तरकारी बाली आलु, कोभी, बन्दा, भन्टा, लसुन, तोरी, रायो, गोलभेंडा, खुर्सानी आदि रोप्ने काममा किसानहरू लागिपरेका छन् ।