प्रस, वीरगंज, २७ असोज/
सोमवार मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायातमा तोकिएको सिट सङ्ख्या अनुसार पुरानै दररेटमा यात्री राखेर सेवा दिन निर्णय गरे पनि वीरगंजमा कार्यान्वयन हुन सकेन।
वीरगंज बसपार्कमा मङ्गलवार सरकारले गरेको यसअघिको निर्णय अनुसार आधा यात्री राखेर साबिक भाडामा पचास प्रतिशत थप गरी सेवा प्रवाह गरेको व्यवसायीहरूले बताए। सिट सङ्ख्या अनुसार पूर्व भाडादरमा यात्री राख्दा स्थानीय प्रहरी र ट्राफिकले अवरोध गरेको उनीहरूको आरोप छ।
निर्देशन नभएको भन्दै प्रहरी र ट्राफिकले अवरोध गरेको भन्दै मङ्गलवार सरकारको निर्णय कार्यान्वयन हुन नसकेको बस व्यवसायीहरूले बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक कमलराज पण्डितले मन्त्रिपरिषद्को निर्णय आफूले पनि सुनेको र सोही अनुसार हुने बताए। उनले जिल्ला प्रशासन कार्यालय र प्रदेश ट्राफिकबाट यसबारेमा निर्देशनको प्रतीक्षामा रहेकोले समस्या भएको बताएका छन्।