प्रस, वीरगंज, २७ असोज/
जिल्ला प्रहरी कार्यालय, पर्साले कालिकामाई गाउँपालिका–४ गङ्गोल खोलामा मृत फेला परेकी महिलाको सनाखत गर्नुका साथै सो घटनामा संलग्न फरार अभियुक्तलाई पक्राउ गरेको जनाएको छ।
असोज २१ गते गङ्गोल खोलामा बीभत्स तरीकाबाट हत्या गरी फालिएकी महिला भारत, उत्तरप्रदेश निवासी ४० वर्षीया मैरुन नेसा भएको उनकै १८ वर्षीया छोरी तरन्नु खातुनले सनाखत गरेको जिप्रका, पर्साले जनाएको छ।
मैरुन नेसाको हत्यापछि फरार रहेका ३० वर्षीय सैफुल खान पठानलाई प्रहरीले अनुसन्धानको क्रममा कालिकामाई गाउँपालिका–२ मस्जिदबाट सोमवार पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ।
प्रहरी उपरीक्षक गङ्गा पन्तका अनुसार पक्राउ परेका पठान र मृतक नेसा हेटौंडामा घरभाडा लिएर बस्दै आएका थिए। छिमेकीले नेसाको सम्बन्ध अरूसँग रहेको पठानलाई भनेपछि दुवैबीच विवाद भएको थियो। लामो समयसम्म नेसाकी छोरी पनि हेटौंडा बसेको र विवाद भएपछि वीरगंजको रानीघाटमा बस्दै आएकी छिन्।
छोरीलाई पठानले हेप्ने तथा गलत क्रियाकलाप गर्न थालेपछि आमा नेसाले छोरीलाई हेटौंडाबाट वीरगंन रानीघाटमा कोठा भाडामा लिएर बसाएकी थिइन्। चार वर्षअघि कामको सिलसिलामा नेसासँग पठानको चिनजान भएको र सोही क्रममा उनले पत्नीसरह बनाएर हेटौंडामा बस्दै आएको प्रहरीले जानकारी गराएको छ।