विद्यार्थीहरू मजदूरी गर्न अन्यत्र जाँदै

माधव तिमल्सिना, ठोरी, २५ असोज/
    सरकारले वैकल्पिक विधिबाट पठनपाठन गर्न विद्यालयहरूलाई निर्देशन दिए पनि आर्थिक अभावका कारण कतिपय विद्यार्थी घर छाडेर मजदूरी गर्न अन्यत्र जान थालेका छन्।
    कोरोना कहरका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा माध्यमिक तहमा अध्ययनरत कतिपय विद्यार्थी आर्थिक अभावका कारण मजदूरीका लागि अन्यत्र जान थालेका हुन्। पोखरिया नगरपालिका–६ मा रहेको महोवनी पद्म माध्यमिक विद्यालयका शिक्षकशिक्षिकाहरू विद्यार्थीको तथ्याङ्क सङ्कलनका लागि टोल–टोलमा जाँदा माध्यमिक तहमा अध्ययनरत कतिपय विद्यार्थी मजदूरीका लागि बाहिर गएको विद्यालयका प्रधानाध्यापक लालबाबू चौहानले बताए।
    वैकल्पिक सिकाइ सहजीकरणका लागि विद्यार्थीहरूको घरमा रेडियो, टेलिभिजन, इन्टरनेटलगायतका सञ्चार सुविधाको अवस्था बुझ्न र तथ्याङ्क सङ्कलनका लागि सो विद्यालयबाट शिक्षकहरू टोल–टोलमा पुगेका थिए। सो क्रममा कक्षा ८, ९ र १० मा अध्ययरत कतिपय कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरू हेटौंडा, भरतपुरलगायतका शहरमा मजदूरी गर्न गएको प्रअ चौहानले बताए। लकडाउनभरि विद्यार्थीहरू घरमैं बसेका भएपनि सरकारले लकडाउन हटाएपछि विद्यार्थीहरूको घरमा आर्थिक अभाव भएकै कारण मजदूरी गर्न बाहिर जान बाध्य भएको उनले बताए।
    पोखरिया नपाभित्र पर्ने रानीगंज, रहरिया, श्रीसियालगायत ठाउँमा घर भई विद्यालयमा अध्ययन गर्ने दर्जनौं विद्यार्थी मजदूरीका लागि बाहिर गएका छन्। कतिपय अभिभावकले बाध्य भएर आफ्ना छोराहरूलाई बाहिर पठाउनुपरेको बताएका थिए।
    विशेषगरी नजिकिंदै गरेको चाडपर्वमा खर्च जुटाउन गएका विद्यार्थीहरू फर्निचर कारखाना, भवन निर्माण, भवन रङरोगन गर्ने काममा मजदूरी गर्ने गरेको एकजना विद्यार्थीले बताए। दैनिक ज्यालादारीमा काम गर्ने गरेका उनीहरूले विद्यालय नखोलुन्जेल मजदूरी गर्ने अन्य मजदूरीका लागि गएका विद्यार्थीका साथीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here