प्रस, परवानीपुर, २२ असोज/
वीरगंज–२१ पटेलनगरमा रहेको हिमालयन डिस्टिलरी लिमिटेडको उत्पादन सुचारु भएको छ।
व्यवस्थापन पक्ष र मजदूरबीच पारिश्रमिक लेनदेनको विषयमा भएको विवाद आपसी सहमतिमा टुङ्गिएको आधिकारिक ट्रेड युनियन नेपाली काङ्ग्रेसनिकट कारखाना श्रमिक सङ्घका अध्यक्ष सुखाडी यादवले बताए। कोरोना महामारीको बेला लकडाउन वा अन्य कारणले उद्योग बन्द भएको र नियम अनुसार पारिश्रमिक नदिएको भन्दै मजदूरहरूले असोज ११ देखि २१ गतेसम्म काम बन्द गरी आन्दोलनमा उत्रेका थिए। ‘नो वर्क–नो पे’को अवधारणामा कम्पनीले मजदूरको तलबभत्ता काटेपछि आक्रोशित मजदूरहरूले काम ठप्प पारी आन्दोलन गरेका थिए।
व्यवस्थापन पक्षले नियम अनुसार तलबभत्ता दिने सहमति जनाएपछि हडताल फिर्ता लिई मजदूरहरू काममा फर्केको अध्यक्ष यादवले बताए। विगत ७ महीनामा अढाई महीना कम्पनी चलेको थियो। काम नगरेको दिनको रकम कम्पनीले काट्ने जनाएपछि आन्दोलन भएको थियो।