प्रस, पंचगावाँ, २० असोज/
लकडाउन, निषेधाज्ञाको समयमा सार्वजनिक सवारीसाधनहरू बन्द भएको कारण मकवानपुरको लोथर, मनहरीबाट जङ्गलको बाटो हुँदै पर्सामा लागूऔषध गाँजा, चरेस ढुवानी हुने गरेकोमा अहिले सार्वजनिक यातायातका साधन सञ्चालन भएपछि पुनः पुरानो शैलीमा लागूऔषधको तस्करी शुरू भएको छ ।
लकडाउन, निषेधाज्ञा अवधिमा पनि पर्सामा मकवानपुर र धादिङ्गबाट आउने गाँजा, चरेस रोकिएको थिएन । कोरोनाको कारण ग्रामीण क्षेत्रमा सुरक्षा अवस्था कमजोर भएको फाइदा तस्करहरूले भरपूर उठाए । जङ्गलको बाटो पर्सा जिल्लाको रामभौरीभाठामा लागूऔषध ल्याउने र त्यहाँबाट पटेर्वासुगौली गापाको सोनवर्षा, भतौडा, देकुली, पटेर्वा, देवरियामा भण्डार हुने गरेको थियो । भण्डारण गरिएको गाँजा, चरेस भिस्वा, जानकीटोला, अमरपट्टि, बुडगाइँ, पाडेपुर, महादेवपट्टि भएर भारत पु¥याउने काम भइरहेको छ ।
यसैगरी ठोरी गापाको शिकारीवास, विजयबस्ती र निर्मलबस्तीमा पनि भण्डार हुने गरेको छ । भारतीय सीमानजीक रहेको कारण यहाँ भण्डारण गरेर भारत पु¥याउन सहज हुने गरेको छ । पहिले मकवानपुर, धादिङ्गमा उत्पादित गाँजा र चरेस यही बाटो भारत पु¥याउने काम भइरहेको थियो भने लकडाउन, निषेधाज्ञामा मुख्य नाका वीरगंज–रक्सौलसहित सबै खुला नाकाहरू सिल गरिएपछि लागूऔषध तस्करहरूले भारतबाट आउने लागूऔषध टिडिजेसिक, नाइट्रोजेट, नुर्फिन, डाइजोपामलगायत यिनै नाकाबाट नेपालका विभिन्न स्थानमा पु¥याउने गरेका छन् । पर्साको भिखनाठोरीबाट अहिले लागूऔषध टिडिजेसिक, नाइट्रोजेट, नुर्फिन, डाइजेपामलगायतका लागूऔषध चितवनको बाटो नेपालका विभिन्न शहरमा तस्करहरूले पु¥याउने गरिरहेका छन् । लकडाउन, निषेधाज्ञामा ठोरी नाकामा लागूऔषध समातिएको घटनाले पनि यो कुरालाई पुष्टि गरेको छ । अहिले सार्वजनिक बससेवा सञ्चालनमा आएपछि गाँजा, चरेस भारत जाने र लागूऔषध टिडिजेसिक, नाइट्रोजेट, नुर्फिन, डाइजेपामलगायतका लागूऔषध नेपाल भित्रिने क्रम बढेको छ ।
सुरक्षाकर्मीले सानो परिमाणमा लागूऔषध बरामद गर्ने अनि भरियालाई मात्र पक्रने गरेको छ । ठूलो परिमाणमा यसको तस्करी सुरक्षाकर्मीसँगको सहकार्यमा भइरहेको छ । ठूला तस्करहरूको सूची जिल्लादेखि इलाका र चौकी सबैमा छ तर उनीहरूसँग महीनावारीमा बाँधिएकाले समाउने प्रयास गरिंदैन । माथिबाट भारतीय दबाब आएपछि देखावाको लागि सानो परिमाणमा लागूऔषध बरामद भएको देखाएर चोखिने कार्य मात्र भइरहेको छ ।