प्रस, निजगढ, १९ असोज/
नेपाल—भारत सीमा क्षेत्रका अधिकारीहरूको बैठक सोमवार बाराको कलैयामा सम्पन्न भएको छ ।
आजको बैठकको मुख्य एजेन्डा भारतको बिहार राज्यमा तेस्रो चरणका लागि हुन गइरहेको राज्यसभाको निर्वाचनको विषयमा केन्द्रित थियो । बैठकमा निर्वाचन स्वच्छ एवं मर्यादितरूपमा सम्पन्न गर्न तीन दिन सीमा सिल गर्ने निर्णय गरिएको छ । यसैगरी, सो अवधिमा यातायात र मानिस आवातजावत बन्द गर्ने निर्णय भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।
निर्वाचन केन्द्रित बैठकमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गरी शान्ति तथा सुव्यवस्था कायम गर्ने, सीमा क्षेत्रमा हुने अवैध हातहतियार तथा बन्दोबस्तीको ओसारपोसार नियन्त्रण, अपराध तथा सोको नियन्त्रणसम्बन्धी सूचनाहरू आदानप्रदान गर्ने, चोरी निकासी एवं तस्करी नियन्त्रण गर्ने, कोभिड–१९ को प्रभाव नियन्त्रण गर्न असल अभ्यासहरूको आदानप्रदान गरी सामूहिकरूपमा अगाडि बढ्ने विषयमा पनि छलफल भएको प्रजिअ पण्डितले बताए ।
बैठकमा रौतहट, बारा, पर्सा, चितवन, पूर्वी र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरू सहभागी थिए । बैठकको नेतृत्व नेपालको तर्पmबाट चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले गरेका थिए ।
यसैगरी, भारत बिहार राज्यको पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सुरक्षा अधिकारीहरूको नेतृत्व पूर्वी चम्पारण जिल्लाका डिस्ट्रिक्ट मजिस्टे«ट शिर्सत कपिल अशोकले गरेका थिए ।
बैठकमा भारतले बाँध निर्माण गर्दा नेपालतर्पm हुने डुबानका समस्या, नेपालका खोला नदीले बगाएर भारततर्पm लैजाने दुर्लभ तथा संरक्षित वन्यजन्तुलाई कसरी सहजरूपमा फिर्ता ल्याउनेलगायतका विषयमा पनि छलफल भएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले बताए । यसअघिको बैठक भारतमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here