प्रस, परवानीपुर, १८ असोज/
परवानीपुर–गण्डक सडकखण्डको छेउछाउका नाला अवरुद्ध भएपछि पर्सा र बाराका किसानहरूको खेत कटान गर्नुका साथै धानबालीमा ठूलो क्षति गरेको छ ।
गएको जेठदेखि असोजसम्म परेको पानी दुवै जिल्लाका सयौं किसानको खेतमा जमेर हजारौं बिघा खेतको धानबालीमा क्षति पुगेको छ । पर्सा–बाराका धेरैै ठाउँमा धानबाली डुबानमा परेर क्षति पुगेको छ भने पानी बहाव क्षेत्रमा पैनी बनाएर पानीको बहाव भइरहेको छ । वीरगंज–२१ लिपनीबिर्ताको हिमालयन डिस्टिलरीको दक्षिण क्षेत्रबाट परवानीपुर र पटेलनगरको सरेहको पानी खेत हुँदै श्रीसिया खोलामा खसिरहेको छ ।
यसरी पानीको बहाव बदलिंदा पटेलनगरका छोटेलालसाह कलवार, हरेरामराउत कुर्मी, जमुना राउत, सिकेन्द्र पटेल, भैरौ राउतलगायतका खेत कटान गरी पैनीको रूप लिंदा धानबाली कटान गर्दै क्षति पुगेको छ । त्यसैगरी, परवानीपुर सुखचैना क्षेत्रमा पनि राजमार्गको नाला थुनिंदा सरेहको पानी दुवैतर्पmका किसानहरूको धानबालीमा पुगेर क्षति पुगेको सुखैचनाका महन्तराउत कुर्मीले बताए ।
अहिले परवानीपुर–गण्डक क्षेत्रमा त्रिभुवन राजमार्ग चार लेन सडक विस्तारको योजना भइरहेकाले सडकको दुवै छेउको नाला अवरुद्ध छ । नयाँ बन्ने नालाले सडकको पानीको निकास भइरहेकोले पुराना नाला बन्द भएको छ । पानीले निकास नपाएपछि दुवैतर्पm खेतबाट बगेको किसानहरूले बताएका छन् ।
त्यसैगरी, बाराको ताजपुर, लिपनी, रामपुर मुसहरी, चैनपुर, बहुअरीका किसानको धानबालीमा पनि पानीको बहावले क्षति भइरहेको छ । यसैबीच, प्रदेश २ भौतिक पूर्वाधार मन्त्रालयले विभिन्न जिल्लाको
अनुगमन गरी बालीमा पुगेको क्षतिको यकीन गरी तटबन्ध निर्माण तथा संरक्षणको योजना अघि बढाउने तयारी गरेको छ ।
सिंचाइ डिभिजन कार्यालय पर्सा पावरहाउसका प्राविधिकले पटेलनगरको क्षतिको अगुमन गरी ह्यूम पाइपसहितको तटबन्ध निर्माण गर्ने इस्टिमेट तयारीमा जुटेको जनाइएको छ । पर्सा र बाराका किसानले परवानीपुर गण्डक सडकखण्डको योजना तत्कालै सम्पन्न गरी पानीको निकास गरिदिन माग गरेका छन् ।