कोरोना महामारीको कारण मुलुकमा लकडाउन गरिएदेखि विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द छन्। हाल भर्चुअल विधिबाट नगर क्षेत्रका केही निजी विद्यालय मात्रै सञ्चालनमा आएका छन् भने केही सामुदायिक र निजी विद्यालयले विगतमा झैं विद्यालय सञ्चालन गरेर साक्षात्कार विधिबाटै विद्यार्थीको पठनपाठन शुरू गरेका छन्। सङ्घीय सरकारको शिक्षा मन्त्रालयले वैकल्पिक विधिमा अध्यापन गराउनेबाहेक विद्यालय सञ्चालन नगर्न आग्रह गरेको छ। यो अवस्थामा साक्षात्कार विधिबाट अध्यापन गराइरहेका विद्यालयहरूले भने भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेको जवाफ दिएका छन्। यो भनाइ सवालको लागि जवाफ मात्रै हो। एकपटक कक्षा सञ्चालन गर्न त पर्याप्त जनशक्ति नभएका विद्यFलयहरूले एउटै कक्षालाई दुई सिफ्टमा अध्यापन गराउने कुरा कल्पना मात्रै हो। सामान्य अवस्थामा शिक्षकलाई १०–४ ड्युटी गराउन विद्यालय असमर्थ भइरहेको बेला पारिश्रमिकविना अतिरिक्त समय शिक्षकहरू विद्यालयमा खट्दैनन्। थप पारिश्रमिक दिन विद्यालयहरूमा पर्याप्त आन्तरिक आम्दानी हुँदैन।
    पूर्ववत् अवस्थामा विद्यालय खोलेर कक्षा सञ्चालन गर्ने अवस्था नरहेसम्म वैकल्पिक शिक्षाको विकल्प छैन। यसमा धेरै सोचिरहने र गन्थनमन्थन गरिरहनुपर्ने जरुरी देखिंदैन। काम गर्ने नै हो भने गाउँशहर जताततै वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न सकिन्छ। नेपाल सरकारले जारी गरेको  विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ ले स्पष्ट मार्ग निर्देशन गरिसकेको छ। सबै विद्यार्थी र सबै विषयका लागि श्रव्य र दृश्य दुवै सामग्री अनिवार्य हुन्छ भन्ने छैन। विश्वका कैयौं मुलुकले धेरै वर्षपहिलेदेखि नै दूर शिक्षा, अनलाइन शिक्षा, खुला विद्यालय सञ्चालन गर्दै आएका छन्। हाम्रो मुलुकमा पनि एफएम शुरू हुनुभन्दा पहिलेदेखि रेडियो नेपालले दूर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको थियो। रेडियो नेपालको ‘दूर शिक्षा’ कार्यक्रम सुनेर परीक्षा दिई उत्कृष्ट अङ्क हासिल गर्नेहरू धेरै छन्।
    ‘नहुनु मामाभन्दा कानो मामा नै जाति’ भने जस्तो अध्ययन गर्न नपाउनुभन्दा उपलब्ध जुनसुकै वैकल्पिक उपाय राम्रै हुन्छ। मुलुकमा एफएम रेडियोको पहुँच नभएको क्षेत्र थोरै छ। जुन ठाउँमा कुनै पनि रेडियोको पहँुच छैन, त्यहाँ स्थानीय सञ्चारकर्मीहरूसँग समन्वय गरेर स्थानीय पालिकाको सहयोगमा रेडियो सञ्चालन गर्न सकिन्छ। एक सय वाटको रेडियो सञ्चालन स्वीकृतिसमेत पालिका आफैंले दिने हो। पालिकासँग इच्छाशक्ति हुने हो भने रेडियो नभएको स्थानमा १५ दिनभित्र सबै प्रक्रिया पूरा गरी रेडियो प्रसारण गर्न सकिन्छ। एक वर्ष वैकल्पिक शिक्षा र पालिकाको विज्ञापन बजाउने हो भने पनि पालिकाको लगानी फछ्र्योट हुन्छ। यसले स्थानीय सञ्चारको विकास र नागरिक जागरणमा टेवा पुग्नेछ। गणित, विज्ञान, स्वास्थ्यका केही पाठ र साना कक्षाबाहेक पुस्तक हातमा भएका विद्यार्थीलाई रेडियोबाट भरपर्दो तरीकाले पढाउन सकिन्छ। दृश्य नै जरुरी पर्ने केही विषयहरूका लागि भिडियो बनाएर अफलाइन शेयर वा पेनड्राइभमार्फत् विद्यार्थीहरूले उपयोग गर्न सक्नेछन्। यसो गर्दा एउटै रेडियो वा एउटै मोबाइलबाट पनि एकजनाभन्दा बढीले शिक्षा हासिल गर्न सक्नेछन्। सामान्य अवस्थामा शिक्षक वा विद्यालयको दायित्व बढी हुन्थ्यो भने वैकल्पिक शिक्षामा अभिभावकको दायित्व बढी रहन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here