हुलाकी सडकमा पप्पुको बेतुकको काम

प्रस, वीरगंज, १२ असोज/
    हुलाकी सडक अन्तर्गत वीरगंज–ठोरी सडकखण्ड मध्ये ३० किलोमिटर सडक निर्माणको जिम्मा पाएको अमर/ कन्टेक्ट/पप्पु जेभी निर्माण सेवाले विनातुकको काम गरिरहेको स्थानीयले आरोप लगाएका छन्। वीरगंजको लक्ष्मणवा चोकदेखि जीराभवानीको चमरीटोलसम्म ३० किलोमिटर सडक विस्तार गर्न जिम्मा पाएको पप्पु कन्स्ट्रक्शनले आवश्यक ठाउँमा कालोपत्र नगरी पहिलेदेखिको राम्रो कालोपत्र भत्काएर पुनः कालोपत्र गरिरहेको देखेर स्थानीयहरूले विनातुकको काम गरिरहेको आरोप लगाएका छन्।
    सोही सडकखण्ड अन्तर्गत बहुअर्वाभाठादेखि चमरी खोलासम्म निर्माणाधीन अवस्थामा रहेको सडक स्तरोन्नति नगरी वीरगंज–पोखरिया सडकखण्डको बहुअर्वाभाठादेखि तिलावे पुलसम्मको कालोपत्रे भत्काएर पुनः कालोपत्र गरेको देखेर स्थानीयहरू छक्क परेका छन्। पप्पु कन्स्ट्रक्शनले अहिले भत्काएकोे कालोपत्र २०७४ सालमा ठेकेदार कम्पनीले निर्माण गरी हस्तान्तरण गरेका थिए।
    कालोपत्र नभएको ठाउँमा सडक सुधार गर्नुको साटो राम्रो अवस्थामा रहेको सडक भत्काएर हिलाम्य र धूलाम्य बनाएको छ। सो सडकमा हिंड्ने जोकोहीले पनि भएको कालोपत्र भत्काएको देख्दा ठेकेदार कम्पनीलाई धिकार्ने गरेका छन्। पप्पु कन्स्ट्रक्शनले बनेको काम बिगार्न मात्र जानेको छ भनी विन्दवासिनीका स्थानीय युवा नेता नरेश गुप्ताले टिप्पणी गरे। लक्ष्मणवादेखि चमरी खोलासम्म ३० किलोमिटर सडकखण्डको अधिकांश ठाउँमा धेरै काम बाँकी छ। तर पप्पुले सिलसिलेवार तरीकाले काम नगरी भएको कालोपत्रे उत्काएर धेरै काम गरेको जस्तो देखाइरहेको गुप्ताको जिकिर छ। सोही सडकखण्डमा पप्पुले तिलावे पुलको निर्माण कार्य वर्षौंदेखि गर्न सकेको छैन। ठेक्का लिएको ७ वर्ष बितिसक्दा पनि एउटा पिलरबाहेक अरू निर्माण कार्य गरेको छैन। पुरानो पुल साँघुरिएर बिहान र बेलुका घण्टौं जाम लाग्ने गरेको छ। सबैभन्दा जरुरी कार्य पुल निर्माणलाई पाखा लगाइ स्तरीय कालोपत्रलाई मात्र पप्पुले भत्काउन जानेको छ।
    गत वर्ष असार मसान्तमा लक्ष्मणवा चोकदेखि रामगढवासम्म कालोपत्रमाथि कालोपत्र गरेको, श्रीसिया खालोनजीकको ५ सय मिटर कालोपत्र भत्काएर सडक जीर्ण बनाएकोले आवागमनमा समस्या भइरहेको छ।
    हुलाकी सडकखण्डको चमरी खोलादेखि ठोरीको चौतारासम्मको ३० किलोमिटर सडकखण्ड निर्माणको जिम्मा पाएको बाँनिया कन्स्ट्रक्शनले ९५ प्रतिशत काम सम्पन्न गरिसकेको छ। तर पप्पु कन्स्ट्रक्शनको अनुसार उसले ३५ प्रतिशत मात्र काम सम्पन्न गरेको  छ। पप्पुले यस किसिमले निर्माण कार्य गर्दा सरोकारवाला निकाय चुप लागेर बस्नु विकासको नाममा गलत अभ्यासले प्रसय पाएको स्थानीयको आरोप छ।
    यस विषयमा हुलाकी सडकका भारतीय कन्सल्टेन्ट बप्पुन बोहोरासँग सम्पर्क गर्दा उनले हुलाकी सडक निर्माणका लागि पप्पु कन्स्ट्रक्शनले २०७२ सालमा ठेक्का लिएको र सोको अन्तिम म्याद २०७७ पुस १३ गतेसम्म रहेको जानकारी दिए। ठेकेदारले ठेक्काभित्र पर्ने सबै काम सिध्याउनुपर्ने हुन्छ। अनिमात्र सबै भुक्तानी पाउने बोहोराले जानकारी दिए। भएको कालोपत्र भत्काएर कालोपत्र नगर्न आफूले पहिले नै सुझाव दिएको तर ठेकेदारले नमानेपछि आफूले केही गर्न नमिल्ने बोहोराको भनाइ रहेको छ। पप्पु कन्स्ट्रक्शनले त तोकिएको समयमा जसरी पनि काम गर्नुपर्छ नत्र भारतीय सरकार रकम फिर्ता लैजाने तयारीमा रहेको बोहोराको भनाइ छ।
    भारतीय कन्सल्टेन्ट बोहोराका अनुसार ५ वर्ष अवधिमा पप्पु कन्स्ट्रक्शनले ३० प्रतिशत काम गरेको बताए। अहिले देखिएको जनशक्ति तथा उपकरणले तोकिएको समयमा पप्पुले काम गर्न नसक्ने बोहोराको भनाइ छ। तर ठेकेदार कम्पनीले म्याद सकिन दुई महीना अवधिभित्र बाँकी ७० प्रतिशत काम सम्पन्न गर्ने दाबी गर्दै आएको बोहोराले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here