प्रस, वीरगंज, १३ असोज/
जिल्ला प्रहरी कार्यालय, पर्साले विभिन्न अपराधमा सजाय पाएपछि फरार रहेकाहरूमध्ये सोमवार एकै दिन ५ जनालाई पक्राउ गरेको छ।
जिप्रका, पर्साले जनाए अनुसार २०७५/९/२९ मा पर्सा जिल्ला अदालतबाट लागूऔषध गाँजा मुद्दामा तीन महीना कैद र रु १ हजार जरिवाना पाएका पकाहामैनपुर गापा–१ बस्ने ४८ वर्षीय रामनाथ मेहतालाई घरबाट पक्राउ गरिएको हो।
यसैगरी, सार्वजनिक शान्तिविरुद्ध अपराध मुद्दामा फरार पकाहामैनपुर गापा–१ धोरे बस्ने ५० वर्षीय मलखराउत यादवलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय, पर्सामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ।
यसैगरी, लागूऔषध मुद्दामा फरार वीरगंज–१८ का ३० वर्षीय कुँवर सिंहलाई पक्राउ गरी पर्सा जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि वीरगंज कारागार चलान गरिएको जिप्रका, पर्साले जनाएको छ।
त्यस्तै, ज्यान मार्ने उद्योगमा पोखरिया नपा–६ बस्ने ४८ वर्षीय चन्द्रिका महतोलाई पक्राउ गरेको र पर्सा जिल्ला अदालतमा हाजिर गराइएको जिप्रका, पर्साले जनाएको छ।
यसैगरी, बैंकिङ कसूर मुद्दामा पकाहामैनपुर गापा–५ घर भई हाल वीरगंज–२४ मा बस्ने ५८ वर्षीय सत्यनारायण प्रसादलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले २०७६/६/३० गते निजलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएपछि फरार थिए। पक्राउ परेका सत्यनारायणलाई उच्च अदालत वीरगंज इजलासमा पेश गरिएको जिप्रका, पर्साले जनाएको छ।