प्रस, वीरगंज, १३ असोज/
वीरगंज महानगरमा खुला छाडिएका चौपाया नियन्त्रण अभियान शुरू भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, वीरगंज महानगर र ग्रीन सिटी आदर्शनगर सामुदायिक सेवा केन्द्रको संयुक्त पहलमा मङ्गलवारदेखि अभियान शुरू भएको ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले बताए।
मङ्गलवार बिहान चार बजेदेखि शहरका विभिन्न स्थानबाट २० वटा छाडा चौपाया नियन्त्रणमा लिएको उनले बताए। लकडाउन, निषेधाज्ञा अवधिमा वीरगंज महानगरमा छाडा चौपाया नियन्त्रण अभियान रोकिएको थियो।
सो अवधिमा शहरका विभिन्न स्थानमा छाडा चौपायाको बिगबिगी बढेपछि आजबाट अभियान शुरू गरिएको हो।
छाडा चौपायालाई महानगरको कान्जी हाउसमा राखिएको छ र जनही रु ५ हजार जरिवाना गरी छाडिने अध्यक्ष खेतानले बताए।