प्रमोद यादव, पंचगावाँ, ११ असोज/
पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा अहिलेसम्म वैकल्पिक माध्यमबाट अध्ययन/अध्यापन सुचारु हुन नसक्दा विद्यार्थीहरूले सिकाइ बिर्सेको अभिभावकहरूले बताएका छन्।
सरकारले स्थानीय तह र विद्यालयले उच्च सतर्कता अपनाइ सामाजिक दूरी कायम गरेर विद्यालय वा विद्यार्थीहरू भएको टोलमा गएर शिक्षक परिचालन गरी शिक्षा परामर्श तथा वैकल्पिक उपायबाट अध्ययन अध्यापन गराउन रायसल्लाह, सुझाव सङ्कलन गर्ने क्रममा सात महीनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरूले सिकाइ बिर्सेको अभिभावकहरूले बताएका थिए।
पर्सा जिल्लाको ग्रामीण क्ष्Fेत्रमा सामुदायिक तथा निजी विद्यालयहरूले वैकल्पिक प्रयोगबाट पठनपाठन गर्न नसकेको पटेर्वासुगौली गापा–५ का समाजसेवी प्रेमलाल चौधरीले बताए। ग्रामीण क्षेत्रका विद्यार्थीहरूसँग वैकल्पिक शिक्षाको लागि रेडियो, टिभी र इन्टरनेट सुविधा नभएको कारण अनलाइन शिक्षाबाट वञ्चित हुनुपरेको उनको भनाइ छ। सरकारले स्वास्थ्य सुरक्षामा आधारित रहेर वैकल्पिक शिक्षालाई निरन्तरता दिन आग्रह गरे पनि ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि कुनै किसिमको कार्ययोजना बनेको छैन। विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले विद्यालय सञ्चालनका लागि अभिभावकहरूसँग रायसल्लाह लिने काम भइरहेको बताएका छन्। अभिभावक र विद्यार्थीहरूले वैकल्पिक शिक्षामा पहुँच नभएको कारण विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन्।
यसै क्रममा जिल्लाका कतिपय विद्यालयमा शिक्षकहरूले काम शुरू गरिसकेका छन्। क्वारेन्टाइन र आइसोलेशन बनाइएका विद्यालयहरू पनि विसङ्क्रमित गर्ने काम भइरहेको छ। सरकारबाट विद्यालय सञ्चालनको प्रतीक्षामा रहेका केही प्रअले बताएका छन्। उनीहरूले विद्यालय सञ्चालनका लागि आवश्यक तयारी पूरा गरेको बताए। अहिले अधिकांश विद्यालयमा शिक्षकहरू नियमित आइसकेका छन्।