जमीन विवादमा बारा र रौतहट सीमावासीबीच झड्प

0
417

प्रस, निजगढ, ६ असोज/
    बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं ५ रूपौलिया टोल र रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ३ मेवा टोलका स्थानीयहरूबीच अन्तरजिल्ला सीमा विवादका कारण पटक–पटक झड्प भइरहन्छ।
    सोमवार बिहान भएको झड्पमा ५ जनालाई गहिरो चोट लागेको छ। दुवै पक्षका चार दर्जनभन्दा बढी मानिस सामान्य घाइते भएका छन् भने रौतहट पक्षतर्फ एउटा मोटरसाइकल, पुल ढलानका लागि ल्याइएको मिक्चर मेशिनमा क्षति पुगेको छ।
    पूर्व–पश्चिम राजमार्गको बाराको निजगढबाट तामागढी–सिम्रौनगढ भएर जाने सडकमा र रौतहटको फतुवा–विजयपुर नगरपालिकाबाट बारा जोडिने बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं ५ रूपौलिया टोलनजीकैको सो हिलाम्य कच्ची सडकमा कल्भर्ट निर्माणको क्रममा सीमा विवादका कारण बारातर्फको रूपौलियावासीले कल्भर्ट निर्माण कार्यमा अवरोध गर्दा झड्प भएको हो। दुवै जिल्लाका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेकाले झड्पले ठूलो रूप लिन पाएन।
    विगत डेढ वर्षदेखि दुवै गाउँ भएर बग्ने अरुवा खोलामा कल्भर्ट निर्माणको क्रममा विवाद बढ्दै जाँदा दुवै जिल्लाका गाउँलेबीच झड्प भएको हो। बारातर्फको जमीन अतिक्रमण गर्दै कल्भर्ट बनाउन थालिएपछि विवाद सिर्जना हुँदै आएको बारातर्फको आदर्श कोतवाल गाउँपालिकाका स्थानीयहरूको भनाइ छ।
    हिजो बिहान करीब ७ बजे रौतहट मेवा टोलका स्थानीयहरूले बारा जिल्लाको सिमाना अतिक्रमण गर्दै कल्भर्टको स्ल्याब ढलान गर्ने क्रममा बाराको आदर्श कोतवाल गाउँपालिका–५ रूपौलियाका सयौंको सङ्ख्यामा रहेका स्थानीयले सो कार्य अवरुद्ध गर्न खोज्दा दुवै पक्षबीच झड्प भएको थियो।
    दुवैतर्फका स्थानीयले हातमा फलामे रड, बाँसका धारिला फाटा, लाठी, ढुङ्गा लिएर झडपमा उत्रिएका थिए। तामागढी–सिम्रौनगढ सडक निर्माणसँगै सोही सडकछेउको उत्तर–दक्षिणतर्फ ४ बिघा १८ कट्ठा जमीन अतिक्रमण गर्ने गरी रौतहटतर्फबाट कल्भर्ट निर्माण गरी बाराको जमीन अतिक्रमण गर्न खोजेको भन्दै सो समस्या सिर्जना भएको हो। सीमाको हिसाबले पनि रौतहटको अरुवा खोलावारि पूर्वतर्फको जमीन रौतहटको र सो खोलापारि पश्चिमतर्फको जमीन बाराको रहेको आदर्श कोतवाल गापाका अध्यक्ष मुस्तफा अन्सारीको भनाइ छ।
    “हामी छिमेकीको जमीन अतिक्रमण गर्न जादैनौं। गएका पनि छैनौं। तर हाम्रोतर्फको एक इन्च जमीन पनि मिच्न दिंदैनौ,” अध्यक्ष अन्सारीले भने, “कल्भर्ट नबनाउन भनेका छैनौं। तर बारातर्फको जमीन मिच्ने गरी कल्भर्ट बनाउनुहँुदैन भन्ने यहाँका जनता, जनप्रतिनिधिहरूको भनाइ छ।”
    सहमति अनुसार बारातर्फबाट गाउँपालिकाले माटो भर्ने क्रममा रौतहटतर्फबाट विवाद सृजना भएपछि झड्प हुन पुगेको गापा अध्यक्ष अन्सारीले बताए। हामीसँग हाम्रो जमीनको प्रमाण छ। रौतहटतर्फबाट जबरजस्ती सीमा अतिक्रमण गर्दै कल्भर्ट बनाउन थालेपछि जनता प्रतिकारमा उत्रेको हो। लडाइँ, झगडाबाट भन्दा पनि कानूनसम्मत तरीकाबाट अघि बढ्नुपर्छ, अध्यक्ष अन्सारीले भने।
    यता रौतहट फतुवा विजयपुर नगरपालिका वडा नं ३ मेवा टोलका स्थानीयहरूले अरुवा खोलापारिको सो जमीन वर्षौंदेखि भोगचलन गर्दै आइरहेकोले सो जमीन रौतहट मेवा टोलको रहनुपर्ने जिकीर गरे। सीमा भएर जोडिने कच्ची सडकमा कल्भर्ट निर्माण गर्नुपर्ने भएपनि बारा आदर्श कोतवाल रूपौलिया टोलका स्थानीयहरूले कल्भर्ट निर्माण गर्न नदिएको रौतहटतर्फका स्थानीयहरूको भनाइ छ।
    यो सडक छिमेकी जिल्ला बारासँग जोडिएकोले त्यस भेगको ठूलो बजार र बिरामी उपचारका लागि वीरगंज आवतजावत गर्नुपर्ने त्यस भेगका रौतहटवासीको बाध्यता छ। यस सडकमा कल्भर्ट निर्माण नभएर एम्बुलेन्स आउन नसक्दा बिरामीहरूले अकालमा ज्यान गुमाउनुपर्ने स्थानीय युवा दिपेन्द्र साहले बताए।
    सो अरुवा खोलापारितर्फको जमीन मेवा टोलका स्थानीयहरूले वर्षौंदेखि भोगचलन गर्दै आइरहेको फतुवा विजयपुर नगरपालिका वडा नं ३ का अध्यक्ष दीपनारायण साहले बताए।
    सो विवाद समाधानको लागि भएका सहमति अनुसार रौतहटतर्फका जनप्रतिनिधिहरूले काम नगरेकै कारण विवाद, झड्पको स्थिति आएको आदर्श कोतवाल गापाका जनप्रतिनिधिहरूको भनाइ छ। सहमति अनुसार काम गर्दा कुनै समस्या आउँदैन।
    विवाद समाधानका लागि असोज ९ गते दुवैतर्फका जनप्रतिनिधि राखी बैठक बस्ने बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here