प्रस, ठोरी, ३१ भदौ/
वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी गाउँपालिकामा पर्ने सडकमा ठेकेदार कम्पनीले कालोपत्र गर्दा लापरवाही गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन्।
सडक निर्माणको ठेक्का सकारेको बानियाँ निर्माण सेवाले कालोपत्र गर्ने क्रममा लापरवाही गरेको स्थानीयले आरोप लगाएका छन्।
यसअघि, वडा नं ४ को मिलचोकमा पहिलो चरणको कालोपत्रे गर्दा लापरवाही गरेको, सडकको मोटाइ कम गरेको भन्दै स्थानीयले विरोध गरेका थिए। विरोधपछि ठेकेदार कम्पनीले दोस्रो चरणको कालोपत्रे गर्दा सडकको मोटाइ बढाउने प्रतिबद्धता जनाएको थियो तर बुधवार दोस्रो तथा अन्तिम कालोपत्र लेयर बिछ्याउने क्रममा ठेकेदार कम्पनीले लापरवाही गरेको स्थानीयको आरोप छ।
निर्माणाधीन हुलाकी सडकको विजयबस्तीदेखि मालीबस्ती सडकखण्डमा दोस्रो चरणको कालोपत्र गर्ने क्रममा सडकमा खाल्डाखुल्डी रहेको र सडक सफासमेत नगरेर मसिनो गिट्टीसहितको अन्तिम कालोपत्र बिछ्याएको भन्दै विजयबस्तीका स्थानीयले विरोध जनाएका हुन्। सडकमा अन्तिम कालोपत्र गर्दा समेत पानी जम्ने, खाल्डाखुल्डी रहेको भन्दै स्थानीयले विरोध गरेपछि ठेकेदार कम्पनीका प्राविधिकहरूले समेत गलती स्वीकारेको स्थानीयले बताए।
विरोधपछि सडकको स्तर परीक्षण गर्ने, इन्जिनीयर नआउन्जेलसम्म सडकको कालोपत्र गर्ने काम रोकिएको छ। स्थानीयले सडकमा कालोपत्र गर्दा गुणस्तरीय हुनुपर्ने माग गरेपछि सडकको अवस्था परीक्षण गर्न ठेकेदारले इन्जिनीयरसँग परामर्श गरेर मात्र काम अघि बढाउने सहमति जनाएका छन्।