नरेश यादव, पर्सागढी, ३१ भदौ/
कोरोना महामारीको समयमा वीरगंज महानगरपालिका–३१ मिलनचोकको प्रहरी चौकीमा एम्बुलेन्स थन्काएर राखिएको छ।
स्थानीय निर्वाचनअघि बेलवा गाविसले एम्बुलेन्स खरीद गरी सञ्चालक समिति बनाएर गाउँवासीलाई सेवा दिंदै आएको थियो। तर स्थानीय निर्वाचनपछि वडाध्यक्ष चुमनप्रसाद गौरोको रेखदेखमा एम्बुलेन्स सञ्चालन गर्ने जिम्मेवारी रहेको वडावासीले बताए। तर उनको जिम्मामा गएपछि एम्बुलेन्स बिग्रिएर प्रहरी चौकीमा थन्किएको छ।
कोरोना महामारीको बेलामा एम्बुलेन्स प्रहरी चौकीमा थन्काएर राख्दा वडावासीलाई निकै समस्या भएको स्थानीय अगुवा जितेन्द्र यादवले बताए। सो वडाका बिरामीलाई आवश्यक पर्दा जीतपुर, सिमरा, वीरगंज, पर्सागढी नगरपालिकाबाट एम्बुलेन्स मगाउनुपरेको उनले बताए। टाढाबाट एम्बुलेन्स आउन समय र शुल्क बढी लाग्ने तथा आवश्यकता परेको बेला नपाइने गरेको यादवको भनाइ छ। उनले वडाध्यक्ष गौरोलाई एम्बुलेन्स सञ्चालन गर्न पटक–पटक अनुरोध गरेको भएपनि उनले आश्वासन मात्रै दिने गरेको बताए।
यस विषयमा वडाध्यक्ष गौरोले एम्बुलेन्स मरम्मत र सञ्चालनको लागि वडा कार्यालयबाट बजेट छुट्याइएको बताए। कोरोना भाइरसको कारण सिप्रदी टे«डिङ बन्द हुँदा एम्बुलेन्स मरम्मत हुन नसकेको बताउँदै निषेधाज्ञा हटेपछि मरम्मत गरी एम्बुलेन्स सेवा सञ्चालन गर्ने जनाएका छन्।