बलिराम शुक्ला, बिरुवागुठी, २९ भदौ/
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मानव स्रोत विकास मन्त्रालयको निर्देशनविपरीत पर्सागढी र बहुदरमाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा अझै पनि आइसोलेशन सञ्चालनमा रहेका छन्।
कोरोना भाइरस सङ्क्रमितहरूको उपचारको लागि पर्सागढी नगरपालिकाका तीनवटा सामुदायिक विद्यालयलाई आइसोलेशन बनाइएकोमा अहिले दुईवटा विद्यालयमा आइसोलेशन सञ्चालनमा छन्। पर्सागढी नपा–४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बर्वाछटैली र वडा नं ८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय हरपुरमा अहिले पनि मन्त्रालयको निर्देशनविपरीत आइसोलेशन सञ्चालित छ।
त्यसैगरी, बहुदरमाई नगरपालिका–२ को नेरा आधारभूत विद्यालयमा आइसोलेशन सञ्चालनमा छ।
शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयहरूलाई असोज १ गतेदेखि वैकल्पिक शिक्षा लागू गर्न निर्देशन दिए पनि आइसोलेशन बनाइएका विद्यालयहरूले वैकल्पिक शिक्षासम्बन्धी कुनै तयारी गर्न सकेका छैनन्।
बहुदरमाई नगरपालिकाका शिक्षा शाखा प्रमुख विदुर उप्रेतीका अनुसार बहुदरमाई नपाले तीनवटा विद्यालयलाई आइसोलेशन बनाएकोमा हाल दुईवटा विद्यालय खाली भएको र एउटामा आइसोलेशन सञ्चालनमा रहेको छ। मन्त्रालयको निर्देशन अनुसार विद्यालयमा बनाइएको आइसोलेशनको अन्य विकल्प खोजिएको तर नभेटिएकोले बाध्य भएर विद्यालयमा आइसोलेशन राख्नुपरेको उनले बताए।
पर्सागढी नगरपालिकाकी उपप्रमुख अर्चना चौधरीले पर्सागढी नगरपालिकाले विद्यालयमा रहेको आइसोलेशनको विकल्पको रूपमा नगरपालिकाको वडा नं ४ मा रहेको कृषि सहकारी संस्थालाई आइसोलेशन बनाउने निर्णय गरे तापनि त्यहाँका बासिन्दाको अवरोधका कारण हुन नसकेको बताइन्।