ओमप्रकाश चौधरी, सेढवा, २६ भदौ/
    नेपाल विद्युत् प्राधिकरणले लकडाउन र निषेधाज्ञा अवधिमा पनि ग्राहकसँग जरिवाना असुल गरेको पाइएको छ।
    सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउन र त्यसपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको कारण पर्साका ग्रामीण क्षेत्रमा विद्युत् मिटर रिडिङ गर्नेहरू खटेका थिएनन्। मिटर रिडिङ नभएको कारण महसूल तिर्न नसकेका ग्राहकले अहिले महसूल तिर्दा जरिवाना बुझाउनुपरेको गुनासो गरेका छन्। उनीहरूले विगत ५ महीनादेखि लकडाउन र निषेधाज्ञामा मिटर रिडिङ नहुँदा महसूल बुझाउन नसकेको तर अहिले महसूल बुझाउँदा जरिवाना तिर्नुपरेको बताए। मिटर रिडिङ नहुँदा बिल नपाएको कारण महसूल नबुझाएको र अहिले रिडिङ भएर बिल अनुसार महसूल तिर्न जाँदा वितरण केन्द्रले जरिवाना लिएको बताए।
    जीराभवानी गापा–३ जीतपुर निवासी राजकिशोर चौधरीले एकैपटक ५ महीनाको महसूल तिर्न समस्या भएको र त्यसमा पनि जरिवाना लिंदा आर्थिक तनाव बढेको बताए। उनले प्राधिकरणले लकडाउन र निषेधाज्ञाको अवधिमा मिटर रिडिङ नगर्नुको दोष नलिने तर अहिले जरिवाना लिनु उपयुक्त नभएको बताए। यस सम्बन्धमा उनले स्थानीय तहले पहल गर्नुपर्ने माग गरे।
    नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रका प्रमुख उपेन्द्र यादवले साउन १ देखि १८ गतेसम्म लकडाउन हटेको र कार्यालय सञ्चालनमा आएको हुँदा सो समयमा महसूल तिरेका उपभोक्तासँग जरिवाना नलिएको बताए। त्यसपछिको अवधिमा महसूल तिर्ने सबै ग्राहकले अनिवार्यरूपमा जरिवाना तिर्नुपर्ने उनको भनाइ छ। उनले मिटर रिडिङ भएन भनेर महसूल नतिर्नु ग्राहकको गलती भएको बताए। ग्राहक आफैंले मासिकरूपमा मिटर रिडिङ गरेर अथवा तिरिएको बिल अनुसार शुल्क तिर्न सक्ने प्रावधान भएको बताए।
    पोखरिया वितरण केन्द्र अन्तर्गत २६ हजार ग्राहक छन्। त्यसमध्ये १३ हजार ग्राहकले अनलाइनमार्फत् विद्युत् महसूल तिरेको प्रमुख यादवले बताए। मासिक महसूल तिर्न समस्या नभएको भन्दै उनले अहिले जरिवाना लागेको भनेर गुनासो गर्नु उपयुक्त नभएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here