प्रस, वीरगंज, ११ भदौ/
प्रमुख जिल्ला अधिकारी आसमान तामाङले पर्सामा लकडाउनको विकल्प नरहेको बताएका छन्।
बिहीवार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै प्रजिअ तामाङले वीरगंजमा बढ्दो सङ्क्रमितको अवस्था र नियन्त्रणको लागि सर्वसाधारण, व्यापारी, सञ्चारकर्मीहरूको भूमिकाबारे छलफल गरेका थिए। छलफलमा उनले पर्सा जिल्लामा लकडाउनको मोडालिटी चेन्ज गर्ने बताए।
वीरगंजमा १३ गतेदेखि निषेधाज्ञा समाप्त हुँदैछ र निषेधाज्ञा कायम राख्ने वा नराख्ने विषयमा सरोकारवालासँग छलफल गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले सञ्चारकर्मीसँग सुझाव मागेका थिए। सञ्चारकर्मीहरूले सीमा क्षेत्रमा प्रहरी इमानदार भए वीरगंजलाई कोरोना सङ्क्रमणबाट मुक्त गर्न सकिने बताएका थिए। पर्साको सीमा क्षेत्रमा तस्करी मौलाएको र भारतीय कामदारहरू दैनिक आउनेजाने गरेको कारण सङ्क्रमितको सङ्ख्या बढेको सञ्चारकर्मीको गुनासो थियो।
वीरगंजबाट अन्य जिल्लामा जाने व्यक्तिलाई मकवानपुरले रोक लगाएको तर मकवानपुरलगायत अन्य ठाउँबाट वीरगंज आउन कुनै समस्या नभएकोले पर्सा जिल्ला प्रवेशमा कडाइ गर्न सञ्चारकर्मीहरूले आग्रह गरेका थिए।
पर्साको गाउँपालिकाहरूको आइसोलेशन केन्द्रको अवस्था राम्रो नरहेको र बिरामीको अवस्था बिग्रेपछि वीरगंज ल्याउने गर्दा मृत्यु दर बढेको प्रजिअलाई जानकारी गराएका थिए। धोबिनी गाउँपालिका–३ मा आज मृत्यु भएका ७२ वर्षीय व्यक्ति आइसोलेशनमा भए पनि समयमा एम्बुलेन्स नपाउँदा उनको ज्यान गएको सञ्चारकर्मीले बताएका थिए।
छलफलमा सञ्चारकर्मीहरूले नारायणी अस्पताललाई पूर्ण सेवासहित सञ्चालन गर्नुपर्ने, जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले नेशनल मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको तर बाबा होटललाई बनाएकोमा स्थानीयको विरोध भएको बताइएको थियो।
छलफलमा सहभागीहरूले नयाँ प्रजिअ तामाङले राजनीतिक दल, उद्योगी, व्यापारी, स्थानीय तहसँग समन्वय गरी आगामी रणनीति तय गर्न जोड दिएका थिए। पर्सा जिल्लामा राहतको आवश्यकता भए महानगरसँग समन्वय गरी वितरण गर्ने, बैंक, पसल, उपभोग्य वस्तुका पसलहरू खोल्ने विषयमा छलफल भएको थियो।