चिरञ्जीवी सापकोटा, ठोरी, ७ भदौ/
ठोरी गाउँपालिका–१ आइतवारदेखि एक साताको लागि सिल गरिएको छ।
पर्सा जिल्लामा निषेधाज्ञा भए तापनि स्थानीयहरूले पालना नगरेका, हिंड्डुल गरिरहेकाले कोरोना भाइरस फैलिने सम्भावना रहेकाले भदौ १३ गतेसम्मका लागि वडा सिल गर्ने निर्णय गरिएको छ।
वडाध्यक्ष रामप्रकाश कुँवरको अध्यक्षतामा वडा कार्यालयमा शनिवार भएको सर्वपक्षीय बैठकले वडा नं १ लाई एक हप्ताको लागि पूर्णरूपमा सिल गर्ने निर्णय गरिएको थियो। बैठकले वडा नं १ मा रहेका खाद्य सामग्रीका पसलहरू बिहान ११ देखि दिउँसो १ बजेसम्म खोल्न दिने निर्णय गरेको छ भने औषधिपसल तथा क्लिनिकलाई पूरै समय सञ्चालन गर्न दिने निर्णय गरेको वडाध्यक्ष कुँवरले जानकारी दिए।
यसैगरी, कुटानीपिसानीको मिलमा स्थानीयहरूले भारी ल्याउने र सम्बन्धित मिलवालाले नै कुटानीपिसानी गरी भोलिपल्ट मात्र दिनुपर्ने निर्णय गरेको छ। सरकारी सवारीसाधन मात्र चलाउन दिने निर्णय गर्दै मोटरसाइकललगायत अन्य सवारीसाधन पूर्णरूपमा बन्द गर्ने गराउने, अत्यावश्यक परेकाहरूको लागि वडा कार्यालयले पासको व्यवस्था गर्ने निर्णय गरेको वडाध्यक्ष कुँवरले जानकारी गराए। अनावश्यकरूपमा घरबाहिर ननिस्किन वडावासीलाई आग्रह गर्दै तीनजनाभन्दा बढी व्यक्ति जम्मा भएर नबस्नसमेत आग्रह गरेको छ।
एम्बुलेन्स तथा औषधिपसलमा सेनिटाइजर हुनुपर्ने, टोलटोलमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम हुनुपर्ने, कुनै पनि सामान लिनुपरेमा वा दिनुपरेमा सेनिटाइजरको प्रयोग गर्ने गराउने निर्णय गरेको वडासदस्य रविन तिमल्सिनाले जानकारी दिए। वडा कार्यालय हाललाई बन्द गर्ने निर्णय गरिएको र वडावासीलाई वडा कार्यालयबाट दिइने सेवा भने बन्द नहुने, घरबाट सेवा सुविधा दिने निर्णय गरिएको सदस्य तिमल्सिनाले बताए।
वडा कार्यालयमा भएको निर्णय उल्लङ्घन भए कारबाई गरिने र मास्क प्रयोग नगर्ने व्यक्तिलाई रु १०० जरिवाना गरिने निर्णय भएको पनि वडाध्यक्ष कुँवरले जानकारी दिए।