प्रस, वीरगंज, ७ भदौ/
    रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव भएको छ। कोरोना सङ्क्रमणको भय र निषेधाज्ञाका कारण रक्तदान गर्ने क्रम रोकिएकोले रगतको अभाव भएको केन्द्रका प्रमुख सौरभराज पाण्डेले बताएका छन्।
    सामान्य अवस्थामा सरदर दैनिक ५०/६० पिन्ट रगतको माग हुने गरेकोमा हाल सरदर दैनिक २५/३० पिन्ट माग भइरहेको छ। तर रक्तदान गर्ने क्रम प्रायः ठप्प रहेकोले रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटी पर्साका अधिकृत उदयराज शर्माले बताएका छन्।
    रगत अभाव हुँदा मृगौलारोगी, मुटुरोगी, प्रसूति एवं शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी र दुर्घटनामा परेकाहरूको जीवनरक्षामा समस्या हुने गरेको छ। कोरोना सङ्क्रमणबाट सुरक्षित रहेका र रक्तदान गर्न इच्छुक दाताहरूलाई संयोजन तथा सहजीकरण गरी रक्तदान गराउन नेरेसो रक्तसञ्चार केन्द्र वीरगंजले सामाजिक सङ्घ/संस्थाहरूलाई आग्रह गरेको  छ।
    रक्तदान हुन नसके कोरोना सङ्क्रमणको कुनै पनि बेला बढीभन्दा बढी रगत आवश्यकता पर्न सक्नेतर्फ पनि केन्द्रले ध्यानाकर्षण गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here