होटल आइसोलेशनबाट घर फर्किनेक्रम जारी

प्रस, परवानीपुर, ६ भदौ/
पछिल्लो समय वीरगंजका होटल आइसोलेशनबाट सङ्क्रमितहरू निको भएर घर फर्किने क्रम शुरू भएको छ।
शुक्रवार साँझ वीरगंज बसपार्कमा रहेको ५० शय्याको रानीपोखरी होटल
(सामुदायिक आइसोलेशन)बाट महिला र पुरुष गरी २० जना सङ्क्रमित निको भएर घर फर्किएको आइसोलेशन वार्डका व्यवस्थापक दिलीपराज कार्कीले बताए। पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमितहरूलाई डिस्चार्ज गरिएको उनले बताए।
दुई सातादेखि ५२ जना सङ्क्रमित राखिएकोमा रिपोर्टको आधारमा २० जना सङ्क्रमितलाई डिस्चार्ज गरिएको होटलमा चिकित्सकीय सेवा दिइरहेका डा अक्षय द्विवेदीले जानकारी गराए। होटलमा चिकित्सकीय सेवा तथा खाना र बस्न सबै निश्शुल्क गरिएको छ।
डिस्चार्ज हुनेमा वीरगंज–२५ श्रीसियाका ३६ देखि ६० वर्षका १० जना छन् भने वीरगंज–१६ नगवाका २५ र २६ वर्षका पुरुष साथै वीरगंज–३ का २४ वर्षीया महिला र ५५ वर्षीय पुरुष छन्। त्यसैगरी, वीरगंज–२ छपकैया, २७ रामगढवा, १३ तेजारथ टोलका पुरुषहरू पनि छन्।
यसैबीच, वीरगंज–२५ श्रीसिया ड्राइपोर्ट चोकमा बन्द रहेको वाटिका इन्टरनेशनल होटललाई सामुदायिक आइसोलेशन वार्ड बनाइएको छ। सामाजिक संस्था सानो पाइला, होटलकी सञ्चालिका एवं प्रदेश सांसद डा अञ्जु रञ्जन तथा उद्योगी अनिल रूँगटाको पहलमा शनिवारदेखि सो होटलमा ४० शय्याको आइसोलेशन वार्ड सञ्चालन गरिएको हो।
होटलमा एकजना चिकित्सकको नेतृत्वमा चारजना स्वास्थ्यकर्मी रहनेछन्। गम्भीर लक्षण तथा स्वास्थ्य अवस्था बिग्रेमा सङ्क्रमितलाई कोभिड अस्पतालमा पठाउने तयारी पनि मिलाइएको सानो पाइलाका कार्यकारी निर्देशक कञ्चन झाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here