प्रस, वीरगंज, १ भदौ/
प्रतीक दैनिकले सोमवार ३४औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा यस वर्षको सुबोध स्मृति पुरस्कार पत्रकार कविता खड्कालाई प्रदान गरिएको छ । प्रतीकका प्रधानसम्पादक जगदीशप्रसाद शर्माले २५ हजार नगद पुरस्कारसहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मानित गरेका थिए ।
कोरोना सङ्क्रमणको बेला प्रतीक दैनिकको कार्यालयमा कार्यालयलाई विसङ्क्रिमत गरी सहभागीहरूलाई पञ्जा, मास्क लगाई स्वास्थ्य र सुरक्षाको मापदण्ड पूरा गर्दै पुरस्कृत व्यक्तिहरू, प्रतीकका सञ्चारकर्मी र कर्मचारी मात्रको सहभागितामा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको प्रधानसम्पादक शर्माले बताए ।
उनले यसपटक कोरोना महामारीको बेला जोखिम मोल लिएर अहोरात्र सेवा गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, खाद्यान्न विक्रेता तथा सञ्चारकर्मीलाई तत् क्षेत्रको प्रतिनिधिको रूपमा सम्मानित गरिएको बताए । यस क्रममा स्वास्थ्यकर्मी प्रतिनिधिका रूपमा कालिका मेडिकल हलकी सञ्चालिका मीना बटाला, पत्रकार शेखर छतकुली, सामुदायिक सेवा केन्द्र मुर्लीकी प्रसनि इनाकुमारी बडाल, प्रहरी जवान रविकुमार सिंह, फन एन्ड फनका सञ्चालक बृजेश अग्रवाल र क्षीरसागर स्वीट्सका सञ्चालक सुबोध सिंहलाई सम्मानित गरिएको थियो ।
वार्षिकोत्सवमा टोलमा सरसफाइको जिम्मेवारी वहन गर्दै आएका सफाइ नाइके अयोध्याप्रसाद तत्वासहित ६ जना सफाइकर्मीलाई नगद पुरस्कारसहित गम्छा ओढाएर सम्मानित गरिएको थियो ।
यसैगरी, वार्षिकोत्सवको अवसरमा पत्रिकाका सम्पादक शत्रुघ्न नेपाललाई नगद रु १० हजार र स्तम्भकार विनोद गुप्तालाई नगद रु ५ हजारसहित प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रिकाका सम्पादक प्रताप श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा सञ्चारकर्मीहरू विकाश शर्मा, आरके पटेल, राजेश मिश्र, राधेश्याम पटेल, सुषमा शर्मा, जियाललाल साह, सन्ध्या क्षेत्री, सुनीलकुमार सिंह, दीपक जैसवाललगायत कर्मचारीहरू महेश राम, श्यामजीप्रसाद गुप्ता, मजिद हवारी, तौरेत अहमद, विजय श्रेष्ठको सहभागिता थियो ।