प्रस, वीरगंज, ३२ साउन/
वीरगंज महानगरमा साउन १० गते र पर्सा जिल्लाभरि साउन १९ गतेदेखि निषेधाज्ञा लगाएको स्थानीय प्रशासनले अत्यावश्यक वस्तुको खरीदमा पनि चासो देखाएको छैन।
महानगरमा निषेधाज्ञा जारी भएको २३ दिन र जिल्लाभरि दुई साता बितिसक्दा पनि स्थानीय प्रशासनले अत्यावश्यक वस्तु खरीदका लागि समय प्रदान नगर्दा समस्या भएको छ। अहिलेसम्म निरन्तररूपमा निषेधाज्ञा जारी भएको कारणले अतिगरीब, गरीब र दैनिक ज्याला मजदूरी गरेर जीवनयापन गर्नेका साथै मध्यमवर्गीय परिवारलाई समस्या भएको छ।
समुदायस्तरमा सङ्क्रमण फैलिएपछि निषेधाज्ञा जारी गरेर कन्ट्याक्ट र मास टे«सिङमा स्वाब सङ्कलन गरिनुपर्ने हो। तर अहिले त्यस्तो केही भएको छैन। निषेधाज्ञा जारी गरिएको तेस्रो दिन मास टे«सिङ अन्तर्गत माईस्थान र रेलवे माविमा तथा त्यसपछिका दुई/तीन दिन विभिन्न स्थानमा स्वाब नमूना सङ्कलन गरिए पनि अहिलेसम्म कन्ट्याक्ट टे«सिङबाहेक मास टे«सिङमा स्वाब सङ्कलन गरिएको छैन।
यसअघिका प्रजिअ र नगरप्रमुखबीच तालमेल नमिलेको कारण निषेधाज्ञा जारी भएपछि जिल्ला प्रशासनको पहलमा माईस्थानमा मास टे«सिङ अन्तर्गत स्वाब नमूना सङ्कलन गरिएको थियो भने रेलवे माविमा महानगरपालिकाले एक घर–एक व्यक्ति पिसिआर परीक्षण अभियान शुरू गरेको थियो। अहिले नगरप्रमुख सङ्क्रमित भएर काठमाडौंमा उपचार गराइरहेका र प्रमुख जिल्ला अधिकारी सरुवा भएर नयाँ प्रजिअ आएका कारण यी दुवै अभियान थाती रहेको छ।
सङ्क्रमित हुनेहरूको सम्पर्कमा रहेकाहरूको पनि गतिलो पाराबाट स्वाब सङ्कलन हुन सकेको छैन। सङ्क्रमितहरूमध्ये करीब ५ सय अहिले पनि होम आइसोलेशनमा छन्। उनीहरूको स्वाब सङ्कलन झनै दुःखद छ। सङ्क्रमण भएको १२ दिन कटेपछि भनिएको ठाउँमा सङ्क्रमित आफैं स्वाब दिन जानुपर्ने बाध्यता छ। गत बुधवार त्रिजुद्ध माविमा सङ्क्रमितहरूलाई डाकेर स्वाब नमूना लिइएको थियो भने आइतवार साउन ३२ गते श्रीपुर माविमा सङ्क्रमितहरूको स्वाब नमूना सङ्कलन गरिएको थियो। आज पनि सङ्क्रमितहरू आफैं र अरूले चलाएको सवारीसाधनमा चढेर आएका थिए। एकजना चिकित्सकले घरमैं आइसोलेट भएका सङ्क्रमितहरू चौध दिनपछि पूर्णरूपमा स्वस्थ हुन सक्ने र स्वस्थ नभएकाहरूको हकमा खुलारूपमा स्वाब सङ्कलन गर्दा सङ्क्रमण फैलिने सम्भावना रहने बताए। उनले यो विधिबाट सङ्क्रमण भएर स्वस्थ भएकाहरूमा पनि असर हुन सक्ने बताए।
जिल्ला सुरक्षा समितिले नयाँ प्रमुख जिल्ला अधिकारीको आगमनपछि शनिवार बैठक गरेर केही निर्णय गरेको छ। चिकित्सक, स्वास्थ्य कार्यालय, महानगरपालिका, सेना, प्रहरीसमेतको सहभागितामा भएको बैठकमा अब उप्रान्त होम आइसोलेशनलाई निरुत्साहित गर्ने र कोभिड अस्पताल, सामुदायिक प्रि–आइसोलेशन र पे–आइसोलेशन (होटल) व्यवस्थापन गर्ने निर्णय गरेको छ। होम आइसोलेशनमा बस्नेहरूमा स्वास्थ्य समस्या देखिएपछि यस्तो निर्णय गरिएको हो।
नयाँ प्रजिअ आएपछि कडाइ
पर्सामा नयाँ प्रमुख जिल्ला अधिकारी आएपछि वीरगंज महानगरमा निषेधाज्ञा पालना गराउन कडाइ गरिएको छ।
साउन २९ गते बिहीवारदेखि वीरगंज महानगरमा सवारीसाधन सञ्चालन र पसल सञ्चालनमा समेत कडाइ गरिएको छ। साइकल, मोटरसाइकललाई मुख्य सडकबाट चल्न पूर्णरूपमा निषेध गरिएको छ। स्वास्थ्यकर्मी, सञ्चारकर्मी, औषधि व्यवसायी, टेलिकम, इन्टरनेट, विद्युत्, खानेपानी, दूधलगायतका सवारीसाधनहरूबाहेक अन्य सबैमा कडाइ गरिएको छ।
आइतवारदेखि मेनरोडमा सेना परिचालन गरेर झन् कडाइ गरिएको छ। साउन १० गते निषेधाज्ञा जारी गर्दा सेना परिचालन गर्ने निर्णय भएको थियो तर त्यो निर्णय कार्यान्वयन गरिएको थिएन। आइतवारदेखि मुख्य सडकमा सेना परिचालन गरिएको छ र जथाभावी हिंड्नेहरूलाई सेनाले सोधपूछ गर्ने, फर्काउने गरेको थियो।