प्रस, वीरगंज, १२ जेठ/
वीरगंजको नारायणी अस्पतालको आइसोलेशन वार्डबाट सोमवार ४४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा पर्साका दुईजना सञ्चारकर्मीसमेत रहेको अस्पताल स्रोलले जनाएको छ। कोरोना सङ्क्रमितहरू निको भएर घर पठाइएको हो।
अस्पतालका कोरोना विभाग प्रमुख डा उदयनारायण सिंहका अनुसार सबै सङ्क्रमितहरूको पछिल्लो दुईवटा रिपोर्ट नेगेटिभ आएपछि सोमवार साँझ डिस्चार्ज गरिएको हो। ४८ घण्टा पहिलेको उनीहरूको स्वाब नमूना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो। सोमवार बिहान नारायणी अस्पतालस्थित पिसिआर ल्याबको रिपोर्ट पनि नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गर्ने गरिएको डा सिंहले बताए। डिस्चार्ज भएका ४४ जनामा पर्साका दुईजना पत्रकारसहित सर्लाही, बारा, पर्साको वीरगंज, धोबिनी, छिपहरमाईका बासिन्दा र एकजना भारतीय नागरिक पनि छन् । डिस्चार्ज हुने निश्चित भएदेखि नै नारायणी अस्पतालका चिकित्सकहरू र डिस्चार्ज भइजानेहरूसमेत खुशी भएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए। डिस्चार्ज हुनेमा बालबालिका, महिला र पुरुष छन्। नारायणीका सङ्क्रमित अधिकांश डिस्चार्ज भएकाले अब पर्सामा नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा २७ जना सङ्क्रमितलाई उपचारको लागि राखिने भएको छ।
नारायणी कोभिड अस्पतालको आइसोलेशनमा भर्ना भएकाहरूको पछिल्लो चरणमा रिपोर्ट नेगेटिभ आएपछि धमाधम डिस्चार्ज भइरहेका छन् । जेठ १० गते शनिवार ९ जना डिस्चार्ज भएका थिए। आइतवार राति १९ जना डिस्चार्ज भएका थिए। आइतवार राति वीरगंज–३ छपकैयाका एकै परिवारका १८ जना र अर्को एकजना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले बताए । उनले लगातार दोस्रोपटक रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको बताए।
अस्पतालको आइसोलेशनबाट आइतवार डिस्चार्ज हुनेमा ४ महीनादेखि ६६ वर्ष उमेरका मानिसहरू छन्। वीरगंज–३ छपकैयाका ३६ वर्षीय युवकमा वैशाख २१ गते सङ्क्रमण देखिएपछि उनको परिवारका सदस्यहरूको स्वाब नमूना परीक्षण गर्दा वैशाख २४ गते १७ जनामा सङ्क्रमण देखिएको थियो। ४ महीनाको एकजना नाबालिग र ६ देखि १४ वर्षका आठजना बालबालिका तथा २२ देखि ६६ वर्षका ८ जना महिला/पुरुष सङ्क्रमित भएका थिए।
नारायणी अस्पतालको कोरोना विभागका प्रमुख डा उदयनारायण सिंहका अनुसार उनीहरूको पछिल्लो दुईवटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।
तेस्रोपटकको स्वाब नमूना सङ्कलन गरी डिस्चार्ज
लगातार तीनपटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमितहरूलाई डिस्चार्ज गर्ने चलन छ। तर सङ्क्रमितहरूमा अन्य लक्षण नदेखिएको कारण चिकित्सकीय सल्लाहमा रहने गरी दोस्रो रिपोर्ट नेगेटिभ आएपछि घरमा बस्ने गरी डिस्चार्ज गरिएको एक चिकित्सकले बताए। यसअघि पहिलोपटक दोस्रो परीक्षण रिपोर्ट पनि नेगेटिभ आएपछि चारजनालाई डिस्चार्ज गरिएको थियो। तर उनीहरूमध्ये दुईजनाको तेस्रो परीक्षण रिपोर्ट पुनः पोजेटिभ आएपछि पुनः आइसोलेशनमा भर्ना गरिएको थियो। पुनः सङ्क्रमित भएका दुईजनालाई वैशाख १४ गते भर्ना गरिएको र जेठ १० गते डिस्चार्ज गरिएको थियो।
पिसिआर रिपोर्ट नारायणीकै
नारायणी कोभिड अस्पतालको आइसोलेशनमा भर्ना भएकाहरूको पिसिआर रिपोर्ट नारायणीबाट जारी भइरहेको छ। नारायणी कोभिड अस्पतालमा जडित पिसिआर मेशिनबाट रिपोर्ट जारी भइरहेको स्वास्थ्य कार्यालयका अधिकृत ठाकुरले बताए। उनले पोजेटिभ आएकाहरूको रिपोर्ट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने गरिएको तर नेगेटिभ रिपोर्टहरू नारायणी कोभिड अस्पतालले नै सार्वजनिक गरिरहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here