विश्वराज अधिकारी

जानकारहरू भन्छन् विश्वले कोराना सङ्क्रमणबाट मुक्ति पाउन अझै वर्षौं लाग्न सक्छ । विकसित वा धनी देशहरूले केही वर्षभित्र कोरोना सङ्क्रमण नियन्त्रण गर्न सके पनि निर्मूल भने पार्न सक्तैनन् । कोरोना सङ्क्रमणको भय उनीहरूको पनि शिरमाथि झुन्डिएको तरबारझैं रहिरहने छ । तर आर्थिक सबलताको कारणले कोरोना सङ्क्रमणले गर्ने राष्ट्रिय आर्थिक क्षतिको ती राष्ट्रहरूले न्यूनीकरण भने गर्दै लानेछन् । कोरोना उनीहरूको लागि अति जटिल एवं ज्यादै गम्भीर समस्या भने हुनेछैन ।

नेपालजस्तो विकासशील राष्ट्रको लागि भने कोरोना सङ्क्रमण दीर्घकालीन समस्या बन्न सक्छ, जटिल र गम्भीर रहिरहन सक्छ । साधन र स्रोतको अभाव तथा भारतबाट अनियन्त्रित किसिमले हुने नेपाल प्रवेशले गर्दा नेपालले कोरोना सङ्क्रमण छोटो अवधिमा निर्मूल गर्न सक्ने सम्भावना परपरसम्म देखिन्न । नियन्त्रण मात्र गर्न पनि वर्षौं लाग्न सक्छ । त्यसकारण नेपालले स्थानीय एवं सङ्घीय दुवै स्तरमा कोरोना सङ्क्रमणका लागि एउटा दीर्घकालीन स्वास्थ्य एवं आर्थिक नीति निर्माण गर्न अत्यावश्यक छ । सार्थक नीति निर्माणका साथै कार्यान्वयनको नियमित अनुगमन पनि उत्तिकै आवश्यक छ ।

अहिले वर्तमानको कुरा गरौं । कोरोना सङ्क्रमण अहिले नियन्त्रण गर्न नसकिनेगरी देशभरि फैलिएको छ । नेपालभरि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ हजार नाघेको छ । नेपालमा अहिले सरदर यो रोगबाट २०० व्यक्तिहरूको मृत्यु भइरहेको छ भनी समाचारहरूले उल्लेख गरेका छन् । विगत २४ घण्टा (जेठ ५ गते) भित्र २४६ जनाले यस सङ्क्रमणको कारण ज्यान गुमाएका छन् । यो अवस्थाले कोरोना सङ्क्रमण दिन प्रतिदिन नेपालमा भयावह बन्दै गएको स्थितिको पुष्टि गर्दछ । विगतमा २४ घण्टमा, यति धेरै व्यक्तिको ज्यान गएको थिएन । यो पहिलो घटना हो ।

नेपालमा धेरैले कोरोना सङ्क्रमण नियन्त्रण एवं व्यवस्थापनका लागि अहिले प्रमुख जिम्मेवार सङ्घीय सरकारलाई देखे तापनि यो विशेष परिस्थितिमा भने खास जिम्मेवार भनेको स्थानीय सरकार वा निकायहरू हुन् । कोरोना सङ्क्रमण नियन्त्रण एवं व्यवस्थापन गर्न नगर एवं गाउँपालिकाहरूले महŒवपूणर् भूमिका निर्वाह गर्न सक्छन् र गर्नु पनि पर्छ । पालिकाका जनप्रतिनिधिहरूले यो विशेष परिस्थितिमा महŒवपूणर् भूमिका निर्वाह गर्नुपर्छ ।

केवल केन्द्र (सङ्घीय सरकार) को आलोचना गरेर, त्यसको मुख ताकेर वा त्यसलाई प्रमुख जिम्मेवार देखेर समय बर्बाद गर्ने हो भने कोरोना सङ्क्रमणले आफ्नो रौद्ररूपमा झनै विस्तार गर्नेछ । मर्ने नागरिकको सङ्ख्या झनै बढ्दै जानेछ । नेपालजस्तो गरीब र साधनविहीन राष्ट्रको लागि कोरोना सङ्क्रमण नियन्त्रण असम्भव हुँदै जानेछ ।

स्थानीय अस्पतालमा शøयाहरूको वृद्धि गर्न, आइसोलेशन केन्द्रहरूको विस्तार गर्न, अक्सिजन आपूर्ति नियमित गर्न, जीवन रक्षा गर्ने औषधिहरूको वितरण सहज पार्न नगर एवं गाउँ पालिकाका जनप्रतिनिधिहरूले विशेष भूमिका खेल्नुपर्छ । गाउँपालिकाका जन प्रतिनिधिहरूले झनै विशेष भूमिका खेल्नुपर्छ किनभने नेपालका प्रायः गाउँ पालिकाहरू केन्द्रमुखी छन्। स्वास्थ्य सुविधाका लागि छेउका शहरमा आश्रित हुन बाध्य छन् । धेरै गाउँपालिकाहरू यस्ता छन् जोसँग बलियो त परको कुरा, सामान्य स्वास्थ्य पूर्वाधारसमेत छैन । स्वास्थ्य सुविधाका लागि गाउँपालिकहरू अहिले पनि धेरै पछाडि छन्। छेउको शहर र केन्द्रप्रति अति निर्भरताले गर्दा गाउँपालिकाहरूको यस्तो स्थिति हुन पुगेको हो । खासमा हरेक गाउँमा एउटा सामान्य अस्पताल र प्रत्येक गाउँपालिकामा एउटा सुविधासम्पन्न अस्पताल हुनुपर्ने हो । अबको यो स्थितिमा स्थानीय स्रोत एवं साधन प्रयोग गरेर गाउँपालिकाहरूले स्थानीय स्तरमा अस्पताल स्थापना गर्न आवश्यक छ । यस कार्यको लागि केन्द्रको मुख ताक्ने परिपाटी त्याग्न आवश्यक छ ।

निषेध व्यवस्थाले गर्दा अहिले धेरै परिवारले रोजगार गुमाएको छ । प्रत्येक दिनको आम्दानीले जीवन गुजारा गर्नेहरूको लागि कोरोना सङ्क्रमण अहिले रोगभन्दा भोकले मार्ने शत्रुको रूपमा प्रस्तुत भएको छ । यस्तो स्थितिमा गरीब परिवारको जीवन रक्षा गर्न नगर एवं गाउँपालिकाहरूले ॅखाद्य बैंक’ को स्थापना गरेर त्यस बैकबाट गरीब परिवारको लागि भोजनको व्यवस्था गर्न आवश्यक छ । पालिकाहरूले धनी परिवारबाट खाद्य पदार्थ लिएर खाद्य बैंक बलियो पार्ने हो भने यस किसिमको खाद्य बैंकबाट ती निकायहरूले धेरै गरीब परिवारलाई सहयोग गर्न सक्छन् ।

स्थानीय स्रोत एवं साधनको उचित व्यवस्थापन गरेर स्थानीय निकायहरूले राम्रो आयआर्जन गर्न सक्छन् । स्थानीय स्रोत ठेक्कामा सञ्चालन गर्न दिएर तथा स्थानीय कर सङ्कलन गरेर पालिकाहरूले एउटा राम्रो कोष निर्माण गर्न सक्छन् र उक्त कोषको उपयोग हालको परिस्थितिले गर्दा पीडित हुन पुगेका गरीब परिवारलाई सहयोग गर्न सक्छन् ।

अहिले कोरोनो सङ्क्रमणको विस्तार रोक्न जति आवश्यक छ, त्यतिकै आवश्यक यस सङ्क्रमणले गर्दा आम्दानीविहीन हुन पुगेका गरीब परिवालाई आर्थिक सहयोग गर्न । मुख्यतः गाउँपालिकाहरूले यसतर्फ गम्भीर भएर सोच्न आवश्यक छ। नेपालका बहुसङ्ख्यक गाउँपालिका गरीब छ । तर अर्को राम्रो कुरा के छ भने गरीब भए तापनि साधन र स्रोतले भने पूणर् छन् । केवल उनीहरूले आफ्ना ती स्रोत साधनको सही पहिचान र प्रभावकारी प्रयोग मात्र गर्न सकेका छैनन् ।

प्रकृतिले हरेक स्थानलाई विनाभेदभाव केही न केही महŒवपूणर् स्रोतहरू दिएको नै हुन्छ । अरबका देशहरूमा कृषि राम्रो गरी फस्टाउन नसके तापनि ती देशहरूले प्रकृतिबाट तेल भण्डार प्राप्त गरेका छन् । प्रकृतिले ती देशहरूलाई विश्वका अनेक राष्ट्रमा निर्यात गर्न सक्ने क्षमतासहितको तेल भण्डारहरू दिएको छ । आज ती देशहरूले त्यही तेल भण्डार उपयोग गरेका छन्, धनी भएका छन् । उनीहरूको राष्ट्रिय अर्थव्यवस्था नै तेल आश्रित हुन पुगेको छ ।

नेपालका स्थानीय निकाय र मुख्यगरी गाउँपालिकाहरूले स्थानीय स्रोत एवं साधनको प्रयोग गरेर राम्रो आय आर्जन गर्न सक्छन् ।

स्थानीय निकायहरूको काँधमा अहिले ऐतिहासिक जिम्मेवारी आएको छ । यो सङ्कटको घडीमा राजनीतिक दलहरूले पनि आफ्ना मत-मतान्तर बिर्सेर एकजुट भई आआफ्नो स्थानमा स्वास्थ्य सेवा विस्तार गर्न जुट्नु आवश्यक छ । हरेक गाउँपालिकामा एउटा सर्वदलीय सन्यन्त्र निर्माण गरेर जनप्रतिनिधिहरू आआफ्नो क्षेत्रमा सक्रिय हुँदै जनसेवामा लाग्न आवश्यक छ । यस्तो गर्न सकिए स्थानीय स्रोत एवं साधनको विकास गरेर बहुसङ्ख्यक नेपालीको ज्यान जोगाउन सकिन्छ, कोरोना सङ्क्रमणसँग लड्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here