प्रस, सिराहा, ६ माघ/
चीसो छल्न बालिएको घुरबाट आगो सल्केर गत तराई–मधेसमा ज्यान गुमाउनेको सङ्ख्या वृद्धि भइरहेको छ। शनिवार सिरनहाको बरियारपट्टि गाउँपालिका–१ का ८५ वर्षीया प्रयागीदेवी साहको मृत्यु भयो।
घुरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर घाइते भएकी साहलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमैं मृत्यु भएको थियो। त्यसैगरी, बितेको पुस २२ गते सिराहाको मिर्चैया नगरपालिका वडा नं ७ मा एकजना बालकको घुरको आगोमा जलेर मृत्यु भएको थियो। मिर्चैया नगरपालिका–८ का रसीद राइनका ८ वर्षीय छोरा जावीर राइनको आगोमा जलेर मृत्यु भयो।
यसअघि घुरकै आगोमा जलेर सप्तरीको राजविराज नगरपालिका बोरियाका ८५ वर्षीय वृद्धको मृत्यु भएको थियो। शीतलहर बढ्दै जाँदा घुर बालेर आगो ताप्ने क्रम बढेको छ। आगो ताप्ने क्रमसँगै आगोले जलेर मृत्यु हुनेको सङ्ख्या पनि बढेको हो। बितेको एक महीनाको अवधिमा सिराहामा मात्रै तीनजनाको मृत्यु भएको छ भने १० जना जलेर घाइते भएका छन्।
सो अवधिमा चीसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर १० जना घाइते भएका र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रजिअ कँडेलले जानकारी दिए। सिराहामा चीसोबाट मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो छ।
“जाडो महीनामा न्यानो हुन तराईमा घुरको आगो ताप्ने चलन छ तर आगो ताप्दा सचेतता नअपनाएकै कारण धेरैजसोको ज्यान जाने गरेको छ,” प्रजिअ कँडेलले बताए। चीसो छल्न बालिएको घुरमा आगो ताप्दा ध्यान दिनुपर्ने कुराको ख्याल नगरेको र चेतना अभावको कारण पनि दुर्घटना हुने र मानिसको ज्यान जाने गरेको कँडेलको भनाइ छ।
अत्यधिक चिसो र शीतलहरबाट प्रभावितका लागि घुरको आगो चीसो छल्ने माध्यम भएपनि आगो ताप्ने क्रममा सावधानी नअपनाउँदा आगलागीको घटना वृद्धि भएको हो। यस वर्ष मात्रै घुरबाट सल्किएको आगोका कारण आगलागी हुँदा जिल्लामा तीन करोड रुपैयाँभन्दा बढीको क्षति भइसकेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताए। यस क्षेत्रका बासिन्दाले बिहान र बेलुका प्रायः गाईगोठमा घुर बाल्ने गर्छन् तर बिर्सेर वा अन्य कुनै कारणले आगो राम्ररी ननिभाउँदा आगलागीका घटनाहरू हुने गरेका छन्।
जिल्लाका अधिकांश स्थानमा भएको आगलागीको घटनाका प्रमुख कारण नै घुर हो। तर पनि यसको नियन्त्रण, जोखिम न्यूनीकरण र व्यवस्थापनमा भने खासै ध्यान दिएको पाइँदैन। घुरबाट हुने आगलागीमा परेर मृत्यु हुनेको यथार्थ तथ्याङ्क नभए पनि यसबाट नेपालमा बर्सेनि धेरै मानिसले ज्यान गुमाउँदै आएका छन्। सयौं घाइते र अर्बाैं रुपैयाँको क्षति हुन्छ।
घुरबाट हुने आगलागीकै कारण धेरै घुरगोठ जलेर घर नष्ट हुने गरेका छन् भने यसबाट हुने क्षतिको अनुपात वार्षिकरूपमा करीब तीन गुणाले बढ्दै गएको अनुमान छ।
साथै आगो ताप्ने केटाकेटीले जथाभावी आगो खेलाउँदा पनि आगलागी हुने गरेको छ। घुर कसैका लागि चीसो छल्ने आधार बन्दा कसैकसैका लागि अभिशाप बन्ने गरेको छ। त्यसैले चीसोको समयमा सही ढङ्गबाट घुर बाल्न र आगलागीको घटनामा कमी ल्याउन सरोकारवाला निकायहरूले जनचेतना जगाउनुपर्ने देखिन्छ।