प्रस, बिरुवागुठी, २२ माघ/
पर्सागढी नगरपालिका–५ पचरूखीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुअर्वासिरामा मावि तहको शिक्षकको दरखास्तको सूचना स्थगित भएको छ ।

सङ्घीय सरकारबाट हस्तान्तरित सशर्त अनुदानको मावि तहको नेपाली, अङ्ग्रेजी र गणित विषयमध्ये एकको पदपूर्ति गर्नुपर्नेमा विद्यालयले शिक्षा नियमावलीविपरीत गोप्य सूचनाको आधारमा गणित विषयको शिक्षक नियुक्ति गर्न लागेको भन्दै स्थानीय अभिभावकहरूले विद्यालयमा पुगेर सो कार्यको विरोध जनाएपछि सूचना स्थगित गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यही माघ २ देखि १६ गतेसम्म दरखास्त दिने र १८ गते सम्पर्क मिति रहेकोमा माघ १० गतेसम्म पनि कतै सूचना नटाँसिएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोधपछि सूचना टाँस गरिएको थियो । तर सम्पर्क मिति सकिएको र दरखास्त दिएका उम्मेदवारहरूको नाम सार्वजनिक गरिएको थिएन ।

स्थानीय अभिभावकहरूले निमित्त प्रधानाध्यापक शम्भु साहलाई आग्रह गर्दा पनि उनले उम्मेदवारहरूको नाम सार्वजनिक नगरेपछि विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि नियुक्ति प्रक्रिया स्थगित गरिएको अभिभावक जगत रामले बताए । स्थानीय राजेश्वरप्रसाद यादवले विद्यालयका प्रअ, विव्यस, शिक्षा शाखाको मिलेमतोमा गोप्यरूपमा शिक्षक नियुक्त गर्न खोजिएकोले अभिभावकहरूको विरोधका कारण सूचना स्थगित गरिएको बताए । सो विद्यालयका विद्यार्थीहरूले विज्ञान विषयको शिक्षकको लागि विज्ञापन गर्नुको साटो गणित विषयको लागि शिक्षक माग गरिएको भनी आपत्ति जनाएका छन् । निप्रअ साहले शिक्षक नियुक्ति प्रक्रिया नियम अनुसार भएको दाबी गरेका छन् ।

उनले अभिभावकहरूको विरोधपछि विद्यालय व्यवस्थापन समितिको निर्णयबाट अनिश्चितकालका लागि स्थगित भएको बताए । शिक्षा शाखा प्रमुख देवप्रसाद गिरीले पालिकाले अङ्ग्रेजी, गणित र विज्ञानमध्ये कुनै एक आवश्यक विषयको रिक्त दरबन्दी वा शून्य दरबन्दी रहेको विद्यालयमा एउटा कोटा निर्धारण गरी विद्यालय व्यवस्थापन समितिलाई पदपूर्ति गर्न सहमति दिएको तर विद्यालयले नियमविपरीत रिक्त दरबन्दी पदपूर्तिको गर्न लागेकोमा सो कार्यको विरोध भएपछि स्थगित गरिएको बताए । पर्सागढी नपाका सामुदायिक विद्यालयहरूमा रिक्त पदमा दरबन्दी मिलानको नाममा पटकपटक विवाद हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here