प्रस, परवानीपुर, २२ माघ/
जीतपुरसिमरा उपमहानगरपालिका–७ शान्तिटोलबाट तीन वर्षीय बालक छ दिनदेखि बेपत्ता छन् ।
रौतहट जिल्ला दुर्गाभगवती गाउँपालिका–१ भङ्गाहापिप्रा निवासी रितेश चौधरीका छोरा अंश चौधरी यही माघ १७ गते बिहीवार बिहान साढे नौ बजेदेखि बेपत्ता भएका हुन् । विद्यालय जाने बालबालिकाहरूसँगै उनी घरबाट बाहिरिएको र जीतपुर बजारसम्म पुगेको सिसिटिभी फुटेजबाट देखिएको छ ।
बिहान ९ः५६ सम्म उनी सिसिटिभी फुजेटमा देखिए पनि त्यसपछि उनको अवस्था अज्ञात छ । रौतहटबाट उनी जीतपुर मामाघर आएका थिए । उनकी आमा अञ्जली जयसवालले बहिनीलाई जन्म दिएपछि अंश मामाघर आएका थिए ।
अंशका हजुरबुबा सतीश जयसवालले जीतपुर प्रहरीलाई अंश सम्पर्कविहीन भएको एक घण्टापछि सूचित गरेका थिए । प्रहरीले हराएको छ घण्टासम्म बाटो हेर्न र त्यसपछि अनुसन्धानमा लाग्ने बताएको थियो । तर अहिले छ दिन बितिसक्दा पनि प्रहरीले अंशको पत्ता लगाउन सकेको छैन ।
बारा प्रहरी प्रमुख सन्तोष तामाङ र इप्रका, सिमराकी प्रहरी उपरीक्षक सुभद्रा वाइवालाई लिएर आज सांसद किसान श्रेष्ठ बालक अंशको मामाघरमा पुगेर अंशलाई प्रहरीले खोजतलाश गरी ल्याउने आश्वासन दिएका थिए । प्रउ तामाङ र प्रनाउ वाइवाले पनि अंशको खोजी कार्य व्यापक भइरहेको र चाँडो पत्ता लाग्ने बताए ।