नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको विवरण अनुसार पछिल्ला छ महीनामा नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि ५६ अर्ब तीन करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा पाँच अर्ब ९५ करोड रुपैयाँ विदेशिएको थियो । यो आँकडा अघिल्लो वर्षभन्दा केही घटेको देखिए पनि विगतका वर्षहरूदेखि अध्ययनको नाममा नेपाली मुद्राको निरन्तर बाहिरिने दर उच्च छ । यसले उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा नेपाली विद्यार्थी विदेशिनु देशकै लागि घाटाको रूपमा देखिएको छ । वैदेशिक रोजगारमा जानेहरूले जसरी ती विद्यार्थीहरू नेपालका लागि विप्रेषण पठाउन सक्दैनन् । अध्ययनरत मुलुकहरूले नीतिगतरूपमा विदेशी विद्यार्थीलाई पूर्णकालीनरूपमा श्रम बजारमा प्रवेश गर्नै नदिने वातावरण बनाएका हुन्छन् । कलेजहरूमा अनिवार्य हाजिरीको प्रावधान, परीक्षामा न्यूनतम स्तर पार गर्नुपर्ने बाध्यता र सीमित काम गर्ने अनुमति जस्ता कारणले उनीहरू अध्ययनका क्रममा काम गरेर आम्दानी गर्न सक्दैनन् । बरु उनीहरूका अभिभावकले नै खान, बस्न र कलेज शुल्क तिर्न लाखौं रकम विदेश पठाइरहेका हुन्छन् ।
विगत केही वर्षयता उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूको सङ्ख्या तीव्ररूपमा वृद्धि भइरहेको छ । तथ्याङ्क हेर्दा विसं २०७४/७५ मा मात्र ३८ अर्ब रुपैयाँ रकम विदेशिएको थियो । त्यसपछि हरेक वर्ष यो रकम बढ्दै गएको छ । यो प्रवृत्ति रोक्न नेपाल सरकारले कुनै ठोस योजना ल्याउन सकेको छैन । मुलुकभित्रै गुणस्तरीय शिक्षाको विकास गर्न सकिएको भए, यसरी अर्बौं रुपैयाँ स्वदेशमैं रहेर देशको आर्थिक प्रणालीलाई सुदृढ बनाउन सहयोग पुग्ने थियो । विद्यार्थीहरू विदेश गएपछि उनीहरूको जीवन सहज हुने प्रत्याभूति हुँदैन । कतिपयले अध्ययनका क्रममा आर्थिक अभाव झेल्नुपर्छ । अभिभावकले खर्च धान्न नसक्ने अवस्थामा विद्यार्थीहरू गम्भीर मानसिक तनावमा पुग्छन् । यस्तो अवस्थामा केहीले पढाइ बीचमैं छाड्नुपर्छ भने केहीले आत्महत्या गर्नेसम्मका घटनाहरू सार्वजनिक भएका छन् । खर्चको व्यवस्थापन गर्न नसकेर विदेशमा अलपत्र परेका विद्यार्थीहरूको सङ्ख्या कम छैन । अध्ययन सकेर स्वदेश फर्किएका विद्यार्थीहरूले पनि ठूलो आर्थिक चुनौतीको सामना गर्नुपर्छ । विदेशमा अध्ययन गर्दा गरिएको लगानी उठाउन धेरै वर्ष लाग्ने हुँदा स्वदेश फर्केर काम गर्न चाहनेहरू न्यून देखिन्छन् । बरु पढाइ राम्रोसँग सक्न सफल भएका विद्यार्थीहरू उतै बस्ने सोच बनाउँछन् । सफल विद्यार्थीका लागि विभिन्न देशहरूले अध्ययनपछि आकर्षक रोजगारको व्यवस्था गर्ने भएकाले उनीहरू नेपाल फर्कन चाहँदैनन् । फलस्वरूप करोडौं रुपैयाँ खर्च गरेर उत्पादित दक्ष जनशक्ति हामीले गुमाइरहेका हुन्छौं ।
वैदेशिक अध्ययन नेपालका लागि बहुआयामिक घाटा हो । पहिलो त तत्कालीनरूपमा अर्बौं रुपैयाँ बाहिरिनेछ । अर्को, अध्ययन सकेर फर्किएसँगै आउने सीप, दक्षता र अनुभवलाई नेपालले होइन, विदेशीले उपयोग गर्छन् । झनै अध्ययनका लागि जानेमध्ये धेरैजसो स्थायीरूपमा विदेशमैं बस्ने हुँदा नेपालको मानव संसाधन ¥हास भइरहेको छ । नेपाल सरकारले यस समस्यालाई गम्भीररूपमा लिन आवश्यक छ । मुलुकभित्रै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराउने व्यवस्था गर्न नसकेसम्म यो प्रवृत्ति रोक्न सकिंदैन । प्राविधिक, व्यावसायिक र उच्च शिक्षाका संस्थाहरूलाई स्तरोन्नति गर्दै अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गरिनुपर्छ । अन्यथा यो अवस्था सुधार होइन, झन् बिग्रँदै जानेछ ।